अभ्यास खेलमा ‘नेपाल ए’ सँग ३७ रनले हार्‍यो अमेरिका, ११२ रनको लक्ष्य पनि भेटाएन

खेलकुद

काठमाण्डाै – अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट एघार ३७ रनले विजयी भएको छ । ११२ रनको लक्ष्य पछ्याएको अमेरिका ७४ रनमा समेटिन पुग्यो । बुधबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, ओमान र अमेरिकाबीचकाे आईसीसी विश्वकप लिग २ अघि मंगलबार अभ्यास खेल आयोजना गरिएको हो । मुलपानी मैदानमा नेपाल प्रेसिडेन्ट ११ ले दिएको ११२ रनको सामान्य लक्ष्य पूरा गर्न अमेरिका असफल रह्यो । नेपालले पहिला ब्याटिङ गर्दै ३३।५ ओभरमा १११ रन बनाएको थियो ।

नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुवास खकुरलेलले ५२ रनकाे अविजित अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । यस्तै पवन सर्राफले १९ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । १५ रनमा पहिलो विकेट गुमाएको नेपाल ११ ले २४ रनमा दोस्रो तथा ६९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ८१ रन बनाउँदा पाँच विकेट खेर फालेको नेपाल अन्ततः एक सय ११ रनमा अलआउट भयो । ११२ रनको लक्ष्य पछ्याएको अमेरिकाको सुरुआत पनि राम्रो हुन सकेन । ३ रन हुँदा पहिलो विकेट गुमाएको अमेरिकाले ३९ रन बनाउँदा ७ विकेट खेर फालेको थियो ।

अमेरिकाका स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाएनन् । अमेरिका अन्ततः ३३।२ ओभरमा ७४ रनमा रोकियो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका शेर मल्लले ४ विकेट लिँदा सागर ढकालले तीन तथा पवन शर्राफले २ विकेट लिए । १ विकेट भुवन कार्कीको नाममा रह्यो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् काठमाडौंमा बुधबारदेखि सुरु हुने ओमान र अमेरिका सहभागी त्रिकोणात्मक क्रिकेट सकिएपछि लागू हुनेगरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)लाई राजीनामापत्र पठाएको स्रोतले बताएको छ ।

८ महिनाअघि जगत टमाटाको स्थानमा मुख्य प्रशिक्षकका रुपमा भित्रिएका भारतीय प्रशिक्षक पटवालले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन नसकेको आलोचना खेप्दै आएका थिए ।

आइसीसीबाट मासिक सात हजार अमेरिकी डलर पाउँदै आएका पटवालले चार महिनाको तलब पाउन बाँकी रहेको भन्दै नेपाल छाड्ने बताउँदै आएका थिए । उनले पोखरामा भएको नेपालको बन्द प्रशिक्षणका लागिसमेत समय दिएका थिएनन् ।

जानकारी छैन : क्यान

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले पटवालको राजीनामाबारे जानकारी नभएको बताएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले राजीनामाबारे क्यानलाई कुनैपनि जानकारी नभएको बताए ।

क्यान निलम्बनमा परेका बेलामा आइसीसी र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पटवाल नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपनि फुकुवा भइसक्दासमेत क्यानसँग सहकार्य हुन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *