तलबमा कर लगाएपछि नेपाली क्रिकेट कोचले राजिनामा दिएको खुलासा

खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले आइतबार पदबाट राजीनामा दिएका छन् । कीर्तिपुरमा माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, आमोन र अमेरिकाबीच त्रिकोणात्मक सिरिज सकिएसँगै लागू हुने गरी पटवालले राजीनामा दिएका हुन् ।

पटवालले आफ्नो राजीनामा आईसीसीमा पठाएको र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि वोधार्थ गराएका छन् । क्यानका महासचिव अशेकनाथ प्याकुरेलले भने पटवालको राजीनामा दिएको विषय समाचार पढेर मात्र थाहा पाएको बताए ।

उनले क्यानमा राजीनामा पत्र नआएको पनि स्पष्ट पारे । पटवाल पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग असन्तुष्ट रहँदै आएको बुझिएको छ । आइसीसीले क्यानलाई निलम्बन गरेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पटवाललाई सन् २०१९ को जुनमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक बनाईएको थियो ।

उनी पहिला पनि नेपाली टोलीको कन्सल्ट्यान्ट ब्याटिङक प्रशिक्षक थिए । नेपालमा पटवाललाई मासिक सात हजार अमेरिकी डलर पाउने गरी मुख्य प्रशिक्षक बनाइए पनि तलबमा कर लगाएका कारण उनी असन्तुष्ट थिए । उनको मासिक तलब सात हजार डलर थियो। यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट थिए। उनले यो रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोतको दाबी छ। सम्झौतामा आयरकरबारे उल्लेख नभएकाले पटवालले पूरै रकम दाबी गर्दै आएका थिए।

मनाङको उपाधि यात्रामा झट्का

उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबले लिगमा पहिलो हार बेहोरेको छ । १०औं चरणको खेलमा उपाधि दाबेदार मनाङ च्यासल युथ क्लबसँग २–० ले स्तब्ध बनेपछि लिगमा पहिलो हार बेहोरेको हो । च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा झट्का लागेको छ । १०औं चरण जारी रहँदा मनाङ शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग ४ अंकले तथा दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लबसँग ३ अंकले पछि परेको छ ।

शीर्षस्थानको आर्मीको १० खेलबाट २३ अंक छ । समान खेलबाटै मच्छिन्द्रको २२ तथा मनाङ १९ अंकमा सीमित छ । मनाङलाई पराजित गरेको च्यासल १२ अंक जोडेर नवौं स्थानमा उक्लदै रेलिगेसनबाट मुक्त भएको छ । अब मनाङलाई च्याम्पियन बन्न बाँकी तीन खेल जित्नुका साथै शीर्ष टोलीको नतिजामा समेत भर पर्नुपर्ने भएको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोट्रफमा निकै नै फितलो बनेको खेलमा च्यासलको जितमा जापानी टाइगा नाकामुरा र कप्तान सन्तोष साहुखलले गोल गरे । खेलको सुरुवातदेखि नै च्यासलले मनाङलाई दबाबमा राखेको थियो । तेस्रो मिनेटमा विक्रम लिम्बुको फ्रिकिकमा अमिर श्रेष्ठको प्रहार पोस्टबाट थोरै आकासिदा च्यासल अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा मनाङका कप्तान कमल श्रेष्ठको प्रहार पोस्टबाट थोरै बाहिरियो । २५औं मिनेटमा टाइगा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाए । दयानन्द सिंहले लडाएको फलमा टाइगाले २५ यार्ड टाढाबाट फ्रिकिकमा सुन्दर गोल गर्न सफल हुँदा मनाङका गोलरक्षक दीप कार्कीले रोक्ने कुनै अवसर नै पाएन ।

३६औं मिनेटमा अन्जन विष्टको प्रहार अकासियो । पहिलो हाफको अन्त्यतिर जोसुवा फेमीले पेनाल्टी क्षेत्र बाहिरबाट सट प्रहार गर्न ढिलो गर्दा मनाङ खेलमा फर्कन सकेन । ६५औं मिनेटमा फेमीकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार अकासियो । ६६औं मिनेटमा विमल रानाको क्लोज रेन्जबाट गरेको प्रहारलाई छिरिङ गुरुङले ब्लक गरिदिए । ८१औं मिनेटमा अन्जन विष्टले गरेको प्रहार पोलमा लाग्दै फर्कियो । त्यसै रिबाउन्डमा उनले फउल गर्न पुगेका थिए । ८९औं मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखल रातो कार्ड खादै टच लाइनबाट बाहिरिन पुगे । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कप्तान सन्तोष साहुखलले नाकामुराको पासमा गोल गर्दै च्यासलको २–० को जित दर्ता गरे । यससँगै सन्तोषले जारी लिगमा आफ्नो गोल संख्या ७ पु¥याउँदै लिगको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेको छ ।

जितपछि च्यासलका व्यवस्थापक शंकर व्यन्जनकारले सोचेअनुरूपको प्रदर्शन हुँदा बलियो टोली मनाङसँग ३ अंक जोड्न सफल भएको र अब रेलिगेसनबाट मुक्त भएको बताए । उनले अबको लक्ष्य सुपर सिक्सको रहेको समेत बताए । मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले फरवार्डहरूले आफूखुसी खेल्दा स्कोर निस्कन नसकेको पराजित हुन पुगेको बताउँदै यो हारले उपाधि यात्रामा धक्का लागेको बताए ।

सोमबारै दिनको पहिलो खेलमा प्रभ जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले पराजित गरेको छ । जावलाखेलको जितमा सुजित बुढाथोकीले खेलको ३२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै जावलाखेल १० खेलबाट १५ अंक जोडेर शीर्ष ६ भित्र अटाएको छ । पराजित बीबीसी ८ अंकसहत ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *