बार्सिलोनाले फेशबुकमा प्रियंकाको तस्विर राख्दै भन्यो : हामी नेपाललाई माया गर्छौं

खेलकुद

काठमाडौं, २० माघ । विश्व चर्चित फुटबल क्लब बार्सिलोनाले आफ्नो फेशबुक पेजमा नेपालकी चर्चित नायिका प्रियंका कार्कीको तस्विर राखेर ‘वि लभ नेपाल’ लेखेर पोष्ट गरेको छ । नायिका कार्की हिजो राति भएको ला लिगाअन्तर्गतको बार्सिलोना र लेभान्तेको खेल हेर्न नाउ क्याम्प पुगेकी हुन् । नायिका कार्की बार्सिलोनाको खेल हेर्नकै लागि हालै स्पेन पुगेकी हुन् । उनको यो खेल हेर्ने यात्रालाई भाईबरले स्पोन्सर गरेको छ ।

आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । गएरातिको खेल हेरेपछि बार्सिलोनाले सोमबार आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा देखिएको छ–वी लभ नेपाल (हामी नेपाललाई माया गर्छौँ) ।’

बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् । यसैबीच प्रियंकाले बार्सिलोनामा आयुष्मानसँगको एक प्रेमिल फोटोसहित अन्य केही घुमघामका तस्बिर पनि सार्वजनिक गरेकी छिन् । प्रियंकालाई खेल हेर्ने अवसर चर्चित सामाजिक सञ्जाल भाइबरले जुराएको बताइएको छ ।

फातीको गोलमा बार्सिलोना विजयी

सुपर स्टार लियोनल मेस्सी र युवा स्टार अन्सु फाती चम्किएपछि साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लिभान्तेमाथि रोचक जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई २–१ गोलले हरायो । बार्सिलोनाको जितमा दुवै गोल फातीले गरे । फातीलाई दुवै गोलको अवसर कप्तान मेस्सीले जुराईदिएका थिए । ३०औँ मिनेटमा फातीले मेस्सीको पासमा गोल गर्दै घरलु टोलीको उत्साह बढाए । उनले लगत्यै मेस्सीक पासमा अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै लगातार गोल गर्ने अवसर बनाएपनि बार्सिलोनाले थप गोल गर्न भने सकेन ।

लिभान्तेले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । लिभान्तेका लागि रुबेन रोसिनाले सान्त्वना गोल गरे । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले २२ खेलबाट ४६ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिड भन्दा तीन अङ्कले पछि छ । रियलको ४९ अंक छ । २६ अंक बनाएको लिभान्ते १३औं स्थानमा छ ।

अर्को खेलमा एथ्लेटिक विल्बाओलाई २–० गोलले हराउँदै गेटाफे तेस्रो स्थानमा उक्लियो । जितसँगै गेटाफेले ३९ अङ्क बनाएको छ । ३१ अंक बनाएको बिल्बाओ नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *