ओमानी टोली त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो

खेलकुद

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न ओमानको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । यही बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् । सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ । ओमान घरेलु मैदानमा प्रशिक्षणपछि आइतबार नेपाल आइपुगेको हो ।

सिरिज खेल्ने अमेरिकी टोली पनि भारतको मुम्बईमा प्रशिक्षण गरेर आइतबार नै नेपाल आइसकेको छ । सिरिजमा तीन टोलीबीच एकआपसमा दुई-दुई खेल हुनेछ । ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो ।

सन् २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालले पहिलो सिरिज खेल्न लागेको हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ ।

यस्तै सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । समग्रमा भने नेपालको यो तेस्रो एकदिवसीय सिरिज हुनेछ ।

ओमान टिम : जिसम मसुद (कप्तान), अकिब इल्यास (उपकप्तान), जितेन्दर सिंह, खावर अली, सनुथ अब्राहिम, सुरज कुमार, मोहमद नसीम, सन्दीप गोड, मोहमद नदीम, जय ओडेद्रा, बादल सिंह, अहमेद फयाद बट, खलीमुल्लाह, बिलाल खान

त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका

माघ २३ गते – अमेरिका विरुद्ध ओमान
माघ २५ गते – नेपाल विरुद्ध अमेरिका
माघ २८ गते – अमेरिका विरुद्ध ओमान
माघ २९ गते – नेपालविरुद्ध अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *