रोमाञ्चक सुपर ओभरमा न्युजिल्याण्डलाई हराउँदै भारतले दुई खेल अगाडि नै जित्यो शिरिज

खेलकुद

काठमाडौं । सुपर ओभरमा जित निकाल्दै भारतले न्युजिल्यान्डविरुद्धको पाँच टि–ट्वान्टी सिरिज दुइ खेल अगाबै कब्जा गरेको छ । बुधबार भएको तेस्रो टि–ट्वान्टी खेलमा सुपर ओभरमा रोमाञ्चक जित निकाल्दै भारतले न्युजिल्यान्डविरुद्धको पाँच टि–ट्वान्टी सिरिज दुई खेल अगाबै कब्जा गरेको हो ।

सुपर ओभरमा १८ रनको लक्ष्य पच्छाएको भारतका लागि रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । उनले अन्तिम दुई बलमा छक्का प्रहार गर्दै सिरिज भारतको पक्षमा पारे । सुपर ओभरमा न्युजिल्यान्डले १८ रनको लक्ष्य दिएको थियो । जसमा कप्तान केन विलियम्सनले १२ तथा मार्टिन गुप्टिलले ५ रन बनाएका थिए ।

त्यसअघि १ सय ८० रनको लक्ष्य पच्छाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरअघि न्युजिल्यान्डका लागि कप्तान केनले ९५ रन बनाएका थिए । शतक बनाउन ५ रनबाट चुकेका कप्तान केनले ४८ बलमा ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

मार्टिन गुप्टिलले ३१ रन बनाउँदा कोलिन मुन्रोले १४ रन बनाए । भारतका मोहमद समी र सार्दुल ठाकुरले २-२ विकेट लिए । रविन्द्र जडेजा र युज्भेन्द्र चहालले १–१ विकेट लिएका थिए । पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले अर्धशतक बनाएका थिए । ४० बल खेलेका रोहितले ६ चौका ३ छक्काको मदतमा ६५ रन बनाएका थिए ।

कप्तान विराट कोहलीले ३८ रनको योगदान दिदाँ केएल राहुलले २७ तथा श्रेयस ऐयरले १७ रन जोडे । मनीष पाण्डेले १४ रन बनाउँदा रवीन्द्र जडेजले १० तथा शिभम डुबीले ३ रन बनाएका थिए । न्युजिल्यान्डका हमिस बेन्नेटले सर्वाधिक ३ विकेट लिए । कोलिन डि र मिचेल सान्टनरले १–१ विकेट लिए । जितसँगै सिरिज ३–० ले कब्जा गरेको भारतले चौथो टि–ट्वान्टी शुक्रबार खेल्नेछ । यसअघि भारतले पहिलो टि–ट्वान्टी खेलमा ६ तथा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *