यसकारण नेपालले सिधै टि-२० बिश्वकपको ग्लोबल छनोट खेल्न पायो

खेलकुद

काठमाण्डाै : नेपालले सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।

१६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि आइसीसी च्याम्पियनस ट्रफी खेल्ने आठ टिमले सोझै स्थान बनाउनेछन् । अरु टिमले भने क्षेत्रीय छनोट प्रक्रियाबाट आउनुपर्नेछ । जसका लागि पाँच महादेशमा ११ क्षेत्रीय छनोट प्रतियोगिता हुनेछन् र ती प्रतियाेगिताबाट आठ टिम अन्तिममा छनोट हुनेछन् ।

यसै वर्ष हुने टी-२० विश्वकपको पुछारमा रहेका चार टिमले क्षेत्रीय छनोट खेल्नुपर्नेछ । ग्लोबल छनोटमा स्थान बनाउन उनीहरुले जनवरी १ तारिखसम्म वरीयतामा माथिल्लो स्थानमा रहेको एसोसियट टिम नेपाल, जिम्बावे, यूएई र हङकङसँग खेल्नेछन् ।

यसको अर्थ चार टिमको स्थानका लागि १६ देशले प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई वटा फरक ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टिमले टी-२० विश्वकप खेल्न पाउनेछन् । यसपटक हुन लागेको टी-२० विश्वकपको पहिलो चरणमा पुग्ने १२ टिमले सोझै अर्कोपटकको विश्वकपमा स्थान बनाउनेछन ।

एकदिवसिय सिरिजमा क्यान विजयी

तेस्रो एकदिवसिय मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान)–११ ले लगातार तेस्रो जित हात पारेको छ । यससँगै नेपालले सिरिज जितेको छ । पोखरा रंगशालामा बिहिबार भएको खेलमा क्यानले मलेसिया–११ लाई पाँच विकेटले हरायो । मलेसियाले दिएको एक सय ५८ रनको विजय लक्ष्य क्यानले २३.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

क्यानको जितमा रोहित कुमार पौडेलले ८१ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । लोकेश बमले २६ रन बनाए । मलेसियाका विजय उन्नीले दुई देबेन्द्र मोगन, मोहम्मद हफिज र अनवार रहमानले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४३.५ ओभरमा सवै विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । मलेसियाका लागि भुषण सेभले सर्वाधिक ३० रन बनाए । देवेन्द्र मोगनले २८, सार्विन मुनियन्डीले २२, मोहम्मदले आरिफ १७ र सैद अजिजले १५ रन बनाए ।

क्यानका अभिनाष बोहराले तीन विकेट लिए । ललित नारायण राजवंशीले र कुशल मल्लले दुई दुई तथा किशोर महतो र कमल सिंह ऐरीले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा क्यानले मलेसियालाई एक सय ३५ र दोस्रो खेलमा एकसय ७० रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *