नेपालबिरुद्धको शिरिजमा मलेसियाले पानी माग्न पाएन, नेपालद्वारा क्लिनस्विप

खेलकुद

काठमाडौंः मलेसिया–११ विरुद्धको मैत्रिपूर्ण अन्तिम एकदिवसीय म्याचमा नेपाल–११ पाँच विकेटले विजयी भएको छ । आजको जितसँगै तीन खेलको सिरिज नेपालले ३–० ले ‘क्लिनस्विप’ गरेको हो । अन्तिम म्याचमा मलेसियाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि रोहित पौडेलले आज पनि उत्कृष्ट ब्याटिङ गरे । उनले आज ७० बलमा ४ छक्का र ८ चौकाको मद्दतमा ८१ रनको योगदान दिए । सिरिजमा रोहितको यो दोस्रो अर्धशतक हो ।

यस्तै आज कप्तान दीपेन्द्रसिंह ऐरीले २८, सुनिल धमला, विनोद भण्डारीले ५–५ र कुशल मल्लले १ रन बनाए । बलिङमा मलेसियाका विजय उन्नीले २, अन्वर रहमान, देवेन्द्र मोगन र मोहम्मद अफिजले एक–एक विकेट लिए ।

यसअघि पोखरा रंगशालामा पहिला ब्याटिङ गरेको मलेसियाले ४३.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि भूषण सेभले ३०, देवेन्द्र मोगनले २८, शार्विन मुनिआन्डीले २२, मोहम्मद अरिफले १७, सायद अजीजले १५ र विजय उन्नीले १३ रन बनाए ।

बलिङमा अविनाश बोहराले ३, ललितनारायण राजवंशी, कुशल मल्लले २–२, कमलसिंह ऐरी र किशोर महतोले एक–एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल पहिलो खेलमा १ सय ३५ र दोस्रो म्याचमा १ सय ७० रनले विजयी भएको थियो ।माघ २२ गतेदेखि हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपालले मलेसियासँग अभ्यास म्याच खेलेको हो ।

ए डिभिजन लिग फुटबलमा थ्रीस्टार र जावलाखेल विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार सम्पन्न खेलहरुमा दुई ललितपुरे टिमहरु थ्रीस्टार क्लब र जावलाखेल युथ क्लब विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई हरायो । थ्रीस्टार ३/१ ले विजयी भयो । थ्रीस्टारका लागि सुशील राई, सञ्जोग राई र हज्मतले एक/एक गोल गरे । पराजित हिमालयनका स्टेफेन समिरले एक गोल फर्काए ।

यो जितसंगै थ्रीस्टार ८ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा पुगेको छ । एक खेल कम खेलेको साविक विजेता मनाङ मस्र्याङ्दी क्लब चौथो स्थानमा झरेको छ । तालिकामा १६/१६ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै दोस्रो खेलमा जावलाखेलले सशस्त्र प्रहरीको एपीएफलाई १/० ले पराजित गरेको छ । १० खेलाडीमा सीमित भएको जावलाखेलका लागि ७१ औं मिनेटमा फोडेले गोल गरे । यसअघि ५७ औं मिनेटमा जावलाखेल १० जनामा सीमित भएको थियो ।

गोलकिपर टेकेन्द्र थापाले डी बक्स बाहिर हातले बल समातेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । सशस्त्रले त्यसपछि दवावमा राखे पनि गोल भने गर्न सकेन । जितले जावलाखेल ८ खेलबाट १२ अंकसहित पाँचौं स्थानमा पुगेको छ । जारी लिगमा फितलो खेलिरहेको सशस्त्र ५ अंकसहित १३ औं स्थानमा छ ।

लिग अन्तर्गत शुक्रबार मध्यान्ह १२ बजे मनाङ्गले पुछारको सरस्वती युथ क्लबसंग तथा दिउँसो ३ बजे च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग खेल्नेछ । दुवै खेल दशरथ रङ्गशालामै हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *