काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो १३ औँ म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले मंगलबार ग्लेन म्याक्सवेलको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।
मेलबर्नले आफ्नो १३ औँ म्याच बुधबार एडिलेट स्टाइकर्ससँग खेल्दै छ । मेलबर्न र एडिलेटबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुने छ । मेलबर्नमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि १३ औँ म्याचका लागि टोलीमा अटाएका छन् ।
मेलबर्नले बुधबारको म्याचका लागि टीममा एडम जम्पा र पीटर ह्यान्सकम्ब फर्किएका छन् । उनीहरु भारत विरुद्धको वानडे सिरिजका लागि भारत भ्रमणमा गएका थिए । यस्तै मेलबर्नले जोनाथन मेर्लो र ज्याक्सन कोलम्यानलाई विश्राम दिएको छ ।
ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, बेन डंक, सन्दीप लामिछाने, सेब गोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, निक लार्किन, निक म्याडिन्सन, लान्स मोरिस, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।
आर्मीलाई तीन अंकको अग्रता
च्यासल युथ क्लबमाथि सहज जितका साथ त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले च्यासलमाथि ३–० को सहज जित हात पारेको हो।
साताैं चरणको समाप्तिमा आर्मी १६ अंकका साथ शीर्ष स्थानमा यथावत् छ। समान खेलमा समान १३ अंक जोडेका मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ७ खेलमा समान ११ अंकका साथ न्युरोड टिम (एनआरटी), थ्री स्टार क्लब र नेपाल पुलिस क्लब क्रमश चौथो, पाँचाैं र छैटौं स्थानमा छन्। ७ खेलमा ६ अंक बटुलेको च्यासल १२औं स्थानमा छ।
आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले समान एक गोल गरेका थिए। ५८औं मिनेटमा भरतले मिडफिल्डर सेसेहाङ आङदेम्बेको पासमा गरेको आकर्षक गोलमा आर्मी खेलमा अघि बढेको थियो। ७३औं मिनेटमा नवयुगले आर्मीको अग्रता दोब्बर पारेका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा सन्तोषले पेनाल्टीको सदुपयोग गर्र्दै आर्मीको अग्रता ३–० मा पु¥याएका थिए। इन्जुरी समयमा आर्मीले अग्रता फराकिलो पार्ने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। आर्मीका नवयुगले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो।
‘पहिलो हाफमा हामीले स्वाभाविक लयअनुरूपको प्रदर्शन गर्न सकेनाैं,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘भरतको गोलमा अघि बढेपछि खेल केही सहज बन्यो। एक गोलले पछि परेपछि च्यासलले आक्रामक रणनीति लियो, जसको फाइदा टोलीले लिँदा काउन्टर अट्याकमा दोस्रो गोल सम्भव भयो। त्यसपछि हामीले राम्रा मुभ बनाउन सक्याैं।’
‘हामी शीर्ष स्थानमा छाैं,’ नवीनले भने, ‘यो कायम राख्नु नै हाम्रा लागि अबको चुनौती हो। अर्को खेल एनआरटीविरुद्ध छ। उनीहरू पनि उत्कृष्ट टोली हुन्। त्यसैले आज भएका कमीकमजोरी सुधार्दै उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछाैं।’
यता लिगको पहिलो खेलमा सुखद सुरुआत गरे पनि त्यसपछिका खेलमा भने जितविहीन बनेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले लगातारको खराब प्रदर्शन टोलीले पूरै लय गुमाउनु रहेको बताए। ‘लिगको तेस्रो, चौथो खेलबाटै टोलीको सेटअप बिग्रिएको थियो, जुन अहिलेसम्म पनि कायम छ,’ निराश हुँदै बालगोपालले भने, ‘टोलीले एउटा रणनीति बनाएको हुन्छ, तर मैदानमा त्यस्तो केही देखिँदैन। टोलीले एक दुई जना खेलाडीमा निर्भर हुँदै खेलिरहेको छ। आफूले सोचेको नतिजा नआउँदा निराश हुँदै खेलाडीहरूले आफूखुसी प्रदर्शन गरिरहेका छन्।’
‘लिगको सुरुआतमा हाम्रो लक्ष्य उपाधि थियो। तर अब हामीलाई जित आवश्यक छ।त्यसपछि मात्र अबको लक्ष्य के हो भन्न सकिन्छ,’ बालगोपालले भने। यता लिगअन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सोमबारको पहिलो खेलमा ब्रिगेड ब्बाइज क्लब (बिबिसी) र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
बराबरीको नतिजापछि संकटा ९ अंकका साथ सातौं स्थानमा छ भने ८ अंक जोडेको बिबिसी नवौं स्थानमा छ।आठाैं चरणका खेल बुधबारबाट सुरु हुनेछन्। दशरथ रंगशालामा हुने आठांै चरणको पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस आमनेसामने हुनेछन्।