विग ब्यासमा सर्वाधिक विकेट लिने खेलाडीको सन्दीप पाचाैँ स्थानमा

खेलकुद

काठमाण्डाै – अस्ट्रेलियामा जारी विग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको पाचाैँ स्थानमा उक्लिएका छन् । अहिलेसम्म १२ मध्ये एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ पुर्‍याएका छन् । दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक पाचाैँ स्थानमा उक्लिएका हुन् ।

सन्दीपले अहिलेसम्म ३८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै २९५ रन खर्चिएका छन् । उनको इकोनोमी रेट ७.७६ रहेको छ । सन्दीप भन्दामाथि पर्थ स्कोर्चसका जे रिचर्डसन रहेका छन् । उनले पनि समान १४ विकेट लिएका छन् । जारी लिगमा सर्वाधिक विकेट लिने खेलाडीमा सिड्नी थन्डरका डेनियल साम्स हुन् । उनले ११ खेलमा २० विकेट लिएका छन् ।

यसैगरी मेलवर्न स्टार्सका हेरिस रफ १६ विकेटसहित दोस्रो स्थानमा रहँदा समान १६ विकेट लिएका एडिलेड स्ट्राइकर्सका रासिद खान तेस्रो स्थानमा छन् । सिड्नी सिक्सर्सका टम कुर्रान १५ विकेटका साथ चौथो स्थानमा छन् ।

उपाधितर्फ लम्कँदै आर्मी

त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधितर्फ लम्किएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० गोलले हरायो । आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । आर्मीले सबै गोल दोस्रो हाफमा गरेको थियो । भरतले ५८ औं मिनेटमा सेसेहाङ आङदेम्बेको पासमा डीबक्स भित्रबाट गोल गरेका थिए । भरतको प्रहार क्रसबारमा ठोकिएर गोल भएको थियो । भरतको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो करियरको ४७ औं गोल हो ।

त्यसपछि आर्मीले ७३औं मिनेटमा अग्रता दोब्बर बनायो । नवयुग श्रेष्ठले रिवाउन्ड बलमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । सेसेहाङ आङदेम्बेको पहिलो प्रहार च्यासलका गोलरक्षकले फर्काएको बलमा नवयुगले गोल गरेका थिए ।

सन्तोष तामाङले ८४औं मिनेटमा पेनाल्टीमा मार्फत तेस्रो गोल गरे । डीबक्स भित्र च्यासलका छिरिङ गुरुङले आर्मीका नवयुग श्रेष्ठलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा पनि आर्मीले अर्को पेनाल्टी पाएको थियो ।

तर, नवयुग श्रेष्ठ दोस्रो पेनाल्टीमा चुके । नवयुगको प्रहार पोलमा लागेर बाहिरिएको थियो । आर्मीको लगातार गोलले अत्तालिएको च्यासलले एउटा पनि गोल फर्काउन सकेन । आर्मीका भरत खवास म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आर्मीले शीर्ष स्थान बलियो बनाएको छ ।

सात खेलबाट आर्मीको १६ अंक छ । सातौं चरणको समाप्तिपछि आर्मीले दोस्रो र तेस्रो स्थानमा रहेको मच्छिन्द्र र मनाङलाई तीन अंकले पछि पारेको छ । मच्छिन्द्र र मनाङको समान १३ अंक छ । ६ अंक बनाएको च्यासल १२औं स्थानमा छ । च्यासललाई विस्तारै रेलिगेसनको चिन्ताले सताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *