माधव नेपाल एक्लिए, ओलीको घोषणा सकारात्मक भन्दै एकता गरेरै जाने यी चार नेताको निष्कर्ष

राजनीति

२५, काठमाण्डौ
आइतबार साझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काउने घोषणाका छन् । कारवाहीमा परेर असन्तुष्ट रहेको माधव नेपाल समूहका नेताहरु यतिबेला पार्टीमा फर्किने कि नफर्किने भन्ने बिषयमा छलफलमा छन् ।

यसैबीच माधव नेपाल समूहका चार जना युवा नेताहरुको सोमबार विहान बसेको अनौपचारिक बैठकले भने पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिने निर्णय गरेको छ।

सोमबार विहान नेता सुरेन्द्र पाण्डेले नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए। उक्त छलफलमा पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै पार्टी एमालेभित्रै बसेर अन्तसंघर्ष गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ।

‘हाम्रो मुख्य माग भनेको पार्टीलाई पूर्ववत अवस्थामाफर्काउने नै हो। उक्त माग पूरा गर्न अध्यक्ष तयार भएपछि अब एकता गरेरै जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौं,’ बैठकमा सहाभागी स्रोतले भन्यो, ‘अब केही विवाद भएपनि पार्टीभित्रै बसेर अन्तर संघर्ष गरौं भन्नेमा हामी एकमत भएका छौं।’

माधव नेपालले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाउनु पूर्व चार जना नेताको बैठक बसेको हो। बैठकमा नेता घनश्याम भुसालले भने ओलीको अहिलेको घोषणालाई तत्काली विश्वास गरिहाल्ने र भन्दै प्रश्न गरेका थिए।

भुसालले ओलीले बारम्बार धोका दिएको भन्दै अहिलेको घोषणालाई पनि तत्काल विश्वास गर्दा फेरि धोका हुने हो कि भन्ने आशंका जनाएका थिए। तर अन्य नेताहरुले आफूहरुको माग सम्वोधन गर्न तयार भएपनि अब फेरि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको जनाएपछि भुसाल ओलीको घोषणाप्रति सकारात्मक बनेका थिए।

माधव नेपाल समूहका सबै जना ओलीलाई नेता मानेर पार्टी एकता गर्ने पक्षमा नरहेको थाहा पाएपछि सो समूहका चार जना युवा नेताहरुको छुट्टै बैठक बसेको हो। उक्त बैठकले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै एमालेमै बस्ने निष्कर्ष निकालेको हो।

एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालबाट निकालिएका नेता माधव नेपालबीच भेटवार्ता भएको छ। आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग छलफल गर्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *