नेपाली सेनाले देशको नेतृत्व लिन सक्छ ?

नेपाली सेनाले देशको नेतृत्व लिन सक्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रधानसेनापति थापाले दिए यस्तो जवाफ !

राजनीति समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना देशको नेतृत्व लिन सक्षम छ भन्ने प्रश्नको सामना गरेका छन् ।

आफ्नो १००० दिनको उपलब्धि सार्वजनिक गर्न सैनिक मुख्यालयमा २०७८ जेठ २३ गते आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानसेनापति थापासँग यस्तो जिज्ञासा राखेका हुन् ।तर थापाले राजनीतिक प्रश्न गरिएको भन्दै त्यसलाई पन्छाएका छन् ।‘यो राजनीतिक प्रश्न हो । यसको जवाफ दिन उपयुक्त छैन,’ थापाले पत्रकार सम्मेलनमा भने ।

नेपाली सेनाको कार्यक्षेत्र संविधानमा नै प्रष्टसँग लेखिएकाले सेना त्यहीअनुरूप चल्ने उनले प्रष्ट पारे ।पछिल्लो समय देशको राजनीतिक तरलतालाई लिएर सेनाको भूमिका पनि कतिपयले खोजिरहेका छन् । त्यतैतिर लक्ष्य गरेर प्रश्न गरिए पनि प्रधानसेनापतिले जोगिएर जवाफ फर्काए ।

शान्तिकालमा सीमा सुरक्षा गृह मन्त्रालयअन्तर्गत हुने संविधानमा व्यवस्था छ । सम्मेलनमा संविधानअन्तर्गतको सेनालाई कालापानी र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन के कदम चाल्नु भयो भन्ने प्रश्न पनि गरिएको छ । जवाफमा प्रधानसेनापति थापाले शान्तिको समयमा सीमामा सेना खटिने व्यवस्था नभएको प्रष्ट पारे ।

‘नेपाली सेना शान्तिको समयमा सीमामा खटिने संविधानमा व्यवस्था छैन । यदि युद्ध र द्वन्द्वकालीन अवस्था भएमात्र सीमामा खटिन मिल्छ,’ थापाले भने ।आफूले सम्पत्ति विवरण सार्वजनिक गरे पनि पद्धति नबसालेको जिज्ञासा पनि उब्जिएको थियो । थापाले भावी प्रधानसेनापतिले यसअघि नै त्यसलाई अंगीकार गरिसकेकाले अब पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व लिएको आज १००० दिन पुगेको छ । थापाले यो अवधिमा आफूले गरेका उपलब्धि सार्वजनिक गरेका छन् । उनले आफ्नो उपलब्धिका रूपमा सकल दर्जाको पेन्सन अवधि पुनरावलोकनदेखि भ्रष्टाचार र अनियमिततामा अपनाइएको शून्य सहनशीलतासम्मलाई समेटेका छन् ।आफ्ना ती उपलब्धिलाई उनले नेपाली सेनाको विशेषांकमा उल्लेख गरेका छन् ।

थापाले निवृत्तिभरण अवधि पुनरावलोकन गरी सकलदर्जाको सर्वाधिक चासो सम्बोधन गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा व्याख्या गरेका छन् । सैनिक जवानलगायतको पेन्सन अवधि २० वर्ष रहेकोमा थापाले सैनिक नियमावली संशोधन गराएका थिए । जसबाट सेनाको तल्ला दर्जाका सैनिक बढी लाभान्वित भएका छन् ।

सैन्य कूटनीतिमा फौजको सहभागिता पनि थापाको १००० दिनको मुख्य उपलब्धिमा समेटिएको छ । दक्षिण एसियाकै सबैभन्दा पुरानो र लामो इतिहास भएको नेपाली सेनाले स्थापनाकालदेखि नै विभिन्न मित्रराष्ट्रहरूसँग सैन्य सम्बन्ध स्थापित गर्दै आएको छ । थापाले पछिल्लो १००० दिनमा चीन, भारतलगायत देशमा भ्रमण गरेर तथा त्यहाँबाट नेपालमा भ्रमण गराएका छन् । जसलाई उनले आफ्नो उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

विपत्तिमा नेपाली सेनाले खेलेको भूमिका , एकीकरण मार्ग कार्यक्रम, सैन्य तालिममा गरिएको सुधार, नागरिकको माझमा पुगेर सेनाले गरेको लोक कल्याणकारी कार्य, हिताधिकारीको सीप र स्वरोजगार विकासमा कल्याणकारी कोषले गरेको लगानी, प्रकृति र पर्यावरण संरक्षणमा फौजको योगदान र अनियमिततामा शून्य सहनशील्तालाई पनि थापाले आफ्नो मुख्य उपलब्धि मानेका छन् ।

न्यायोचित काज व्यवस्थापन, शीघ्र निर्माण र मितव्ययिता, गुणस्तरीय र सुरक्षित आवास, कल्याणकारी कोषले गरेको शैक्षिक लगानी, गुनासो इकाइ, खेलकुद विकासलाई थापाले उपलब्धिका रूपमा पेस गरेका छन् ।

राष्ट्रिय सेवा दलको सुदृढीकरण, पर्यावरण संरक्षण खातिर गरिएको हिमाल सफाइ, सैनिक कल्याणकारी कोषमा भएको उल्लेख्य वृद्धि, सैनिक अस्पतालको वृद्धि, दीर्घकालीन सोचमा आधारित राष्ट्रिय सुरक्षा योजना, सरुवा तथा नियुक्ति मापदण्ड, नेपाली सेना, प्रधानसेनापति र कमाण्डको नयाँ झण्डा पनि थापाले आफ्नो कार्यकालमा लागू गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *