मन्त्रीबाट हटेका प्रदीप ज्ञवालीले तीन वर्षमा यति सम्पत्ती कमाए, हेर्नुहोस्

राजनीति समाचार

डेस्क २२ जेठ
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २०,००० गरी जम्मा ९३४,९३० पार्टी खातामा जम्मा भएको ‘’, सामाजिक सञ्जालमा लेखेका छन् ।

पारिश्रमिकको कर कट्टी बापत ३,७२,८९१।१३ रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि ज्ञवालीले उल्लेख गरेका छन् ।

यसबाहेक आफ्नो बैंक खातामा सात लाख ४१ हजार ७७५।६० रुपैयाँ बचत रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको ज्ञवालीले प्रष्ट पारेका छन् ।

शनिबार बिहानै मन्त्री निवास छोड्ने जानकारी दिएका ज्ञवालीले शुक्रबार नै सवारी साधन र ल्यापटप बुझाएको उल्लेख गरेका छन् । उनले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

 

यस्तो छ ज्ञवालीको फेसबुक स्टाटसः

धन्यवाद तथा आभार
करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी ९सम्प्रति मुख्यसचिव०, भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।

समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप ९म्याकबुक प्रो० आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *