देउवा र निधिबीच बाँझाबाँझ, यस्तो छ रहस्य

राजनीति समाचार

जेष्ठ २२, काठमाडौँ
उपसभापति विमलेन्द्र निधिले केन्द्रमा केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनविपरीत प्रदेश–२ मा गठबन्धन बनाउन लागेपछि नेपाली कांग्रेसमा विवाद भएको छ । उपसभापति निधिले केन्द्रमा बनेको गठबन्धनविपरीत प्रदेश–२ मा एमालेको प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूह, र जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर समूहलाई मिलाउने प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए ।

गत आइतबार निधिले यो प्रस्ताव राखेपछि देउवाले ओली समूहसँग मिल्ने कुरा हुँदैहुन्न भनेर फर्काइदिएका थिए । तर पनि निधि रोकिएका छैनन । उनले मंगलबार, बुधबार र बिहीबार पनि देउवा निवास बुढानीलकण्ठ पुगेर आफ्नो प्रस्ताव प्रदेशमा पार्टीका लागि फाइदाजनक भएको भन्दै देउवालाई फकाउने प्रयासमा जुटिरहेका छन् । तर, देउवाले भने केन्द्रमा भएको गठबन्धन विपरीतमा जान नसक्ने प्रष्टै जवाफ निधिलाई दिईसकेका छन् ।

बुढानीलकण्ठ स्रोतका अनुसार निधिलाई देउवाले २०७४ मा भएको स्थानीय तह, प्रदेश सभा र संघको निर्वाचनमा भनेको मान्दा धोका खाएकोले अहिले जे भन्यो त्यही गर्न नसक्ने जवाफ फर्काएका थिए । त्यसपछि निधिले आफू पनि पार्टीको उपसभापति भएकाले आफ्नो प्रदेशमा आफ्नो सुझाव नेतृत्वले मान्नुपर्ने भन्दै कड्किएका थिए । नमानिए विद्रोह गर्ने चेतावनीसमेत निधिले दिएको स्रोत बताउँछ ।

तर, देउवाले भने आफूले केन्द्रमा भएको सहमतिबेगर कदम चाल्न नसक्ने बताएपछि बिहीबार निधि देउवा निवासबाट रिसाएर निस्किएका थिए । निधि रिसाएपनि यो मामलामा तत्काल केन्द्रमा बनेको गठवन्धन छोडेर प्रदेशमा फरक नीति लिनै नसक्ने देउवाको अडान छ ।

देउवा र निधिका आ आफ्नै अडानका वीच काग्रेसमा यो विषयमा विवाद कायमै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *