प्रचण्ड, माधव नेपाल र उपेन्द्र–बाबुरामबीच एकता, ओली क्याम्पमा भुइँचालो, सबै मिलेर चुनाव लड्ने

राजनीति समाचार

काठमाडौं, १९ जेठ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले बाट निश्काषित नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच चुनावी मोर्चा बनाउनेबारे सहमति भएको छ ।

पछिल्लो समय कांग्रेससहितको विपक्षी गठबन्धनमा रहेका यी चार शीर्ष नेताहरुबीच चुनावी गठबन्धन बनाएर अघि बढ्नेबारे छलफल भएको बुझिएको छ । कतिसम्म भने समाजवादको लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ अघि बढेकोले चार नेताबीच पार्टी एकता नै गरेर जानुपर्नेबारे पनि छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर संविधानमाथि प्रहार गरेको भन्दै ओलीलाई सत्ताच्यूत गर्न कांग्रेससहितको विपक्षी गठबन्धनमा उभिएका चार नेताहरु चुनावसम्म सहकार्य गर्नेगरि छुट्टै छलफलमा बसेका हुन् । संविधान जारी गर्दापनि यादव त दाहाल नेतृत्वको मोर्चामा थिए ।

दाहालसँग यादवको केमेष्ट्री मिलेको छ । दाहाल र नेपाल त २०७५ जेठ ३ गतेबाट गत फागुन २३ गतेसम्म एउटै पार्टीमा थिए । दाहाल अध्यक्ष थिए भने नेता नेपाल वरिष्ठ नेता । अदालतले एमाले र माओवादी केन्द्र ब्यँताईदिएपछि उनीहरु आ आफ्नो पार्टीमा फर्किएका थिए । तर, अध्यक्ष ओली पार्टी एकता पूर्वको अवस्थामा फर्कन नमानेपछि नेपाल समूह असन्तुष्ट रहँदै आएको थियो ।

नेपाल पक्षका २८ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गरेर संसद् बैठक नै बहिष्कार गरेका थिए । पछिल्लो समय त प्रधानमन्त्री ओलीलाई विस्थापित गर्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ जना सांसदले हस्ताक्षर नै गरेका छन् । यो कदमपछि ओलीले माधव नेपालसहित ११ जना सांसदलाई पार्टीबाट निश्काषन गरेका छन् । र, आज भोलिभित्रै अरु १२ जनालाई पनि निश्काषन गर्ने तयारी गरेका छन् । नेता नेपालले अब आफूहरु छुट्टै पार्टी गठनको तयारीमा रहेको बताईसकेका छन् । दाहाल र नेपालबीच नयाँ कम्युनिष्ट पार्टी गठनबारे समेत छलफल भएको छ ।

तर, नेपाल पक्षका नेताहरुले तत्काल पार्टी एकता गर्नुभन्दापनि चुनावी गठबन्धन गर्नसम्म सकिने भन्दै तत्काल एकता गर्न नहुने सुझाव दिएको बुझिएको छ । तर, नेपाल भने तत्काल नयाँ पार्टी गठन गरेर माओवादी केन्द्रसँगपनि एकता गरेर नयाँ कम्युनिष्ट पार्टी बनाउनुपर्ने पक्षमा पुगेका छन् । यसको लागि दाहाल, नेपाल, यादव र भट्टराईबीच छलफलसमेत भएको बुझिएको छ ।

अहिले प्रतिनिधिसभा पूनःस्थापनाको लागि कांग्रेससँगै एउटै मोर्चामा संघर्ष उत्रिने उनीहरुको सल्लाह छ । नेपालले गठन गर्ने पार्टीमा वामदेव गौतमपनि सहभागी हुने चर्चा छ । लामो समयसम्म लडेर ल्याएको परिवर्तन उल्टाउने काम हुन लागेको भन्दै परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने शीर्ष चार नेताहरुको मत छ । नेता नेपालनिकट विद्यार्थी नेताहरुले नयाँ दल दर्ताको लागि आह्वान दिएको खबर पनि छ । यो संयोगमात्रै हो वा नेता नेपालकै निर्देशमा भएको हो रु भन्नेबारे पनि चर्चा छ ।

तर, नेपाल आँफैले पनि आफूहरु नयाँ पार्टी गठनको तयारीमा होमिएको बताउनुले निर्वाचन आयोगमा उनीनिकट विद्यार्थी नेताहरुले नयाँ दल दर्ताको लागि आवेदन दिनु संयोगमात्रै होईन । यो त नेता नेपालकै निर्देशमा भएको मान्न सकिन्छ । उता, उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष रहेको जनता समाजवादी पार्टी, नेपाल फुटको संघारमा छ । ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएको छ । तर, यादव पक्षले भने ओलीको कदमविरुद्ध आफूलाई होम्याएको छ ।

दाहाल र नेपालसँग सहकार्य गरेर जानेबारे यादव र भट्टराईबीच पनि छलफल भएको थियो । सोहीअनुसार चार नेताबीच चुनावी गठबन्धन बनाएर जानेबारे छलफल भएको हो । उता, ओलीले पनि महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफलमा चुनावसम्म सहकार्य गरेर जानेबारे सहमति भएको बुझिएको छ। ओलीसँग ठाकुर महतोले गठबन्धन बनाएकै कारण पनि यादव दाहाल र नेपालसँग गबन्धन बनाउने पक्षमा पुगेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *