पद गुमेसँगै बादल पुनः गृहमन्त्री बन्दै, अरु ५ मन्त्री थप ! को-को ?

राजनीति समाचार

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा केही नयाँ मन्त्री थपिने भएका छन् ।स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा जाने भएको छ ।सरकारलाई यसअघि नै समर्थन गरेको जसपा महन्थ ठाकुर समूहका केही नेता छिट्टै सरकारमा जाने भएका छन् ।

जसपा अर्का अध्यक्ष उपेन्द्र यादव र ठाकुरबीच एकअर्कालाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रक्रिया अगाडि बढेका बेला ठाकुर समूहका केही नेता सरकारमा जाने तयारीमा छन् ।अध्यक्षद्वय ठाकुर र यादव समूहले एकअर्कालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन, अन्यथा पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएसँगै जसपा विभाजन हुने अन्तिम चरणमा पुगेका बेला सरकारमा सहभागी हुन थालेको हो ।

अध्यक्ष महन्थ ठाकुरसहित ४ नेताले ३ दिनभित्र स्पष्टीकरण नदिएपछि अर्का अध्यक्ष यादवले शनिवार पुनः २४ घण्टाभित्र जवाफ दिन अर्काे पत्र पठाएका छन् ।अध्यक्ष ठाकुरले समेत यादवलाई उस्तै व्यहोराको २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण पत्र दिएका छन् । एकअर्कालाई कारवाही गर्ने अन्तिम तयारी जसपाभित्र भइरहेको छ ।

अध्यक्ष ठाकुर समूहलाई प्रधानमन्त्री ओलीले ६ मन्त्री र २ राज्यमन्त्री दिने स्रोतले जनाएको छ । पहिलो चरणमा जसपाबाट ५ जना मन्त्रीले शपथ लिने तयारी रहेको छ ।

जसपाका नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा र उमाशंकर अरघरियाले मन्त्रीको शपथ लिने स्रोतले जनाएको छ । गृह मन्त्रालयको दाबी गरेका महतो उपप्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रामबहादुर थापालाई नियुक्त गर्ने स्रोतले जनाएको छ । पूर्व माओवादी नेताहरू टोपबहादुर रायामाझी, लेखराज भट्ट र प्रभू शाहले समेत मन्त्रीको शपथ लिने भएका छन् ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल सहितका एमालेका केही मन्त्रीलाई बिदा गर्ने तयारी समेत रहेको स्रोतले जनाएको छ ।

राप्रपा अध्यक्ष कमल थापा समेत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ । माओवादी केन्द्रबाट मन्त्री भएका मणि थापा र गौरीशंकर चौधरीले मन्त्री निवास खाली गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *