प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरलाई अधिवक्ता शम्भु थापाको निर्देशन:’तपाईं बिदामा बस्नुस’!

समाचार समाज

काठमाडौ, १६ जेठ, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीशबारे प्रश्न उठाएपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बिदा बस्न सुझाव दिएका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा रहेका न्यायाधीशमा प्रश्न उठाए । नेकपाको एकता खारेज गर्ने फैसला र यो मुद्दाको सम्बन्ध बुझाउने क्रममा उनले वर्तमान प्रधानमन्त्री रहेको पार्टी लार्जेस्ट भयो र उहाँ लार्जेस्ट पार्टीको प्रधानमन्त्री हुनुभयो । चार स्टेपमा प्रधानमन्त्री नियुक्त गर्ने चरण छ । फेरि संसद विघटन भयो । पहिलेको विघटनमा पनि त्यही नेकपाको पक्ष र विपक्षमा छ लुकाउनुपर्ने छैन भनेका थिए ।

उनलाई प्रधानन्यायाधीशले प्रश्न गरे, मेरो के हुन्छ ? थापाले लिभमा बसे भैहाल्छ नि भन्दै जवाफ दिएका छन ।

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने उनीहरुको जिकिर छ । तर इजलास गठन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘बायस’ नहुन आग्रह गरे । साथै अघिल्लो संवैधानिक इजलासमा आफू पनि रहेको भन्दै उनले आफ्नो हकमा चाहिं किन प्रश्न नउठाएको भनेर प्रश्न गरेका छन् ।

बहसको शुरुमा अधिवक्ता गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाए । संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ समेत संलग्न इजलासले ऋषि कट्टेलको मुद्दामा नाम मिलेकोमा अर्को नाम राख भन्नू पर्नेमा निवेदकको माग विपरित एक कदम अगाडि बढेर एमाले र माओवादीलाई साविकमा फर्काउने काम गरेको उनले बताए ।

उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रश्न गरे, त्यो फैसला र यो मुद्दामा के जोडिएको छ र यसरी बहस गर्न मिल्दैन? तर बन्दीले त्यो फैसला नभएको भए अहिलेको स्थिति नआउने भएकाले यो मुद्दासँग सरोकार भएको बताए ।

उनले संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ दुवैलाई हटाउनुपर्ने माग गरे । न्यायाधीश केसीले नेकपाको एकता खारेज गर्ने फैसला पुनरावलोकन नहुने आदेश दिएकाले यो मुद्दा हेर्न नहुने उनको दाबी छ ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशबारे प्रश्न उठ्नुलाई अन्यथा लिन नहुने बताए । उनलाई पनि प्रधानन्यायाधीश जबराले नेकपा विभाजनसम्बन्धी फैसला र यो मुद्दामा के सम्बन्ध छ भनेर प्रश्न गरेका छन् । जवाफमा कार्कीले यसरी नै प्रश्न उठेपछि अघिल्लो संवैधानिक इजलासमा एक न्यायाधीश (हरिकृष्ण कार्की)ले मुद्दा नहेरेको स्मरण गर्दै न्यायाधीश केसी र श्रेष्ठले यो मुद्दा हेर्न नहुने तर्क गरे ।

उनलाई प्रधानन्यायाधीश जबराले प्रश्न गरे, ‘म पनि छु नि । यो बायस हो । बायस नबनौं । तीनै जनालाई भनिदिए भइहाल्यो नि । मेरोमा मोरल नैतिक दायित्व केही पर्दैन ?’उनलाई कार्कीले जवाफ दिए, ‘आफैं विचार गर्नुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *