काँग्रेस नबचेसम्म प्रजातन्त्र र मुलुकको भविष्य बच्न सक्दैनः रामचन्द्र पौडेल

काँग्रेस नबचेसम्म प्रजातन्त्रको भविष्य बच्न सक्दैनः रामचन्द्र पौडेल

राजनीति समाचार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औँ महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको बताएका छन् । काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानतः पार्टी सङ्कटमा पर्न खोजेको जनाउँदै महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।

“काँग्रेसलाई अहिले कोरोना सङ्क्रमणबाट जनता बचाउने, लामो सङ्घर्षबाट प्राप्त गरिएको संवैधानिक व्यवस्था बचाउने र सङ्कटमा पर्न लागेको पार्टी बचाउने मुख्य तीन जिम्मेवारी छ,” उनले भने । काँग्रेस नबचेसम्म प्रजातन्त्र र मुलुकको भविष्य बच्न नसक्ने उनहाँको भनाई छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको गैरजिम्मेवारपनका कारण अक्सिजन अभावले कोरोना सङ्क्रमितको बिरामी मृत्यु हुनु दुःखद कुरा भएको बताए । “वर्तमान सरकारले विश्वासको मत लिन नसकेर राष्ट्रपतिले नयाँ सरकारको आह्वान गरेपछि काँग्रेस नयाँ सरकार निर्माणमा लागेको हो,” उनले भने ।

काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कोरोना महामारीको समयमा सरकारले जनताको अभिभावकत्व ग्रहण गर्न नसकेको बताइन् । सांसद अमरेशकुमार सिंहले संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए। काँग्रेस बर्दियाका सभापति सञ्जय गौतमले नेतृत्वमा इच्छाशक्ति भए समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न सकिने उल्लेख गरे । काँग्रेस ताप्लेजुङका सभापति लिला बोखिम, इलामका सभापति हिमालय कर्माचार्य, नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले समयभित्र पार्टीको महाधिवेशन गर्नुपर्छ भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *