धेरै समय चुप रहेका बामदेवको बल्ल फुट्यो बोलीः माधव नेपाललाई भने 'महानायक

धेरै समय चुप रहेका बामदेवको बल्ल फुट्यो बोलीः माधव नेपाललाई भने ‘महानायक

राजनीति समाचार

पछिल्लो समय देशमा राजनीतिक उथलपुथल भईरहेका बेला समेत प्रायः चुप रहेका नेकपा एमालेका नेता वामदेव गौतमले गणतन्त्र दिवसका अवसरमा मुख खोलेका छन् । प्रचण्ड र माधव नेपाललाई गणतन्त्र स्थापनाको युगान्तकारी संघर्षका महानायकको संज्ञा दिएका हुन्१४ औं गणतन्त्र दिवसका अवसरमा गौतमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीको नाम नलिई तत्कालीन एमालेले गणतन्त्रको निर्णय गर्दा झापा संघर्षका मुख्य तीन नेता विरुद्धमा रहेको दावी गरेका छन् ।

गौतमले गणतन्त्र स्थापनाका तीन महानायकमध्ये गिरिजाप्रसाद कोइराला अहिले नरहेको र प्रचण्ड तथा माधव नेपाल नेपाली राजनीतिमा सक्रिय रहेको भन्दै ओलीलाई गणतन्त्रविरोधी कित्तामा राख्न खोजेका छन् ।

गौतमले भनेका छन्, ‘बिडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गौतमले झापा संघर्षका मुखय तीन नेता भनेर ओली,सीपी मैनाली र राधाकृष्ण मैनालीलाई लक्षित गरेका हुन् ।

एमाले एकता अभियान सन्चालन गरिरहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट छन् । उनले झलनाथ र माधव नेपालले अर्को पार्टी दर्ता गरेमा आफू त्यसमा सामेल हुने बताएका छन् ।

यता नेकपा (एमाले) बाट निश्काषित नेता माधव कुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य भएको बताएका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश प्रवाह गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य(मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व भएको पनि उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोशीस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको भनेर प्रश्नसमेत गरेका छन् ।

नेपालले भनेका छन्, प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो । संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लीई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न सकिदैन।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *