स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी ,

समाचार स्वास्थ्य

कोभिड १९ संक्रमण नियन्त्रण गर्न सरकारले स्वास्थ्य संकटकालको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका हुन् ।  सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल लगाउने बारे तयारी भइरहेको बताएका हुन्।

‘आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ,’ उनले भने। सम्बोधनका क्रममा ओलीले स्वास्थ्य क्षेत्रमा पूर्वाधारहरु विकास गरिएको दाबी गरेका छन्। अस्पतालमा अक्सिजन प्लान्ट स्थापनका लागि उल्लेख्य रकम पुर्‍याइएको उनको भनाई छ।

यस्तै, खोप उत्पादन कम्पनीले आवश्यक मात्रामा खोप उपलब्ध नगराएकोले खोप लगाउने काम प्रभावित भएको ओलीले बताए। सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो।

स्वास्थ्य आपत्काल घोषणा भयो भने के हुन्छ त ,
स्वास्थ्य आपत्काल घोषणा भएमा के हुने भन्ने बारे अध्यादेशमा यस्तो व्यवस्था गरिएको छ ।

– स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचार गर्न लगाउने ।

– आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने ।

– जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड १९ को निदान र उपचारको काममा लगाउने ।

– नेपाल सरकार, प्रदेश र स्थानीय तह वा प्रचलित कानूनबमोजिम स्थापित शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड, संस्थान, सरकारी स्वामित्वका कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारी साधन, भवन, संरचना वा अन्य भौतिक साधन कोभिड १९ को रोकथाम नियन्त्रण, निदान र उपचारमा लगाउने ।

– आवश्यकताअनुसार सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी स्वामित्वमा रहेका जग्गा, भवन, संरचना र सवारी साधनको अभिलेख राखी प्रयोग गर्ने ।

– सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी संस्थाबाट उत्पादन वितरण वा बिक्री गर्ने औषधि, स्वास्थ्य सामग्री तथा उपकरण नियन्त्रणमा लिई प्रयोग र वितरणको व्यवस्था गर्ने वा गराउने ।

यस्तै आवश्यक भएमा मानिस तथा गाडीको आवातजावत रोक्ने कुरा पनि अध्यादेशमा लेखिएको छ । दफा ४ मा आपतकाल घोषणा भएमा वा कोरोनाको संक्रमणको कारण जनस्वास्थ्यमा जोखिम देखिएमा त्यसको विश्लेषणका आधारमा विभिन्न संस्था तथा मानवीय क्रियाकलापलाई केही समयका लागि बन्द वा निश्चित आदेश दिएर सञ्चालनको आदेश दिनसक्ने व्यवस्था गरिएको छ ।

– मानिसको आवत जावत ।

– हवाई, स्थल तथा अन्य सबै प्रकारका यातायातका साधन सञ्चालन ।

– अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन ।

– सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी कार्यलय , शिक्षण संस्था वा अन्य संस्था सञ्चालन ।

– सभा, सम्मेलन, जुलुस, मेला, महोत्सव, जात्रा जस्ता भीडभाड हुने क्रियाकलाप ।

– सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, रेष्टुरेन्ट, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, डिपार्टमेन्ट स्टोर, पसल तथा बजार सञ्चालन ।

– धार्मिक अनुष्ठान, धार्मिक स्थलमा हुने क्रियाकलाप ।

– नामकरण संस्कार, विवाह, मृत्यु संस्कार जस्ता सांस्कृतिक क्रियाकलाप ।

– मानिस या सवारी साधनको आवागमन हुने वा भीडभाड हुने अन्य क्रियाकलाप ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *