चुनावमा कांग्रेसजनले फेरि हँसिया हथौडामा भोट हाल्नुपर्ने !

मध्यावधि निर्वाचनमा काङ्ग्रेस र माओवादी एक भएर जाने ।। काङ्ग्रेस कार्यकर्ता पनि अब हसिया हथौड़ामा भोट हाल्न बाध्य।।

राजनीति समाचार

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्व जलस्रोत मन्त्री लक्ष्मण घिमिरेले अहिलेको सम्मिकरणमा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए अबको निर्वाचनमा धेरै ठाउँमा कांग्रेसका कार्यकर्ताहरुले अनाहकमा बलिदान दिनु पर्ने स्थिति आउने बताएका छन्।

देउवालाई अदालतले प्रधानमन्त्रीमा पदस्थापन गरे अबको चुनावमा कांग्रेस गठबन्धन बनाएर चुनाव लड्नु पर्ने स्थिति आउने र त्यसबेला कांग्रेसका धेरै नेताहरु चुनाव लड्नबाट बन्चित हुने उनले बताए। त्यति मात्र नभई फेरी रुखलाई भोट हाल्ने अवसरबाट कांग्रेस समर्थक बन्चित हुने पनि उनले बताए।

‘अहिले सुन्दै छु, चुनावमा गठबन्धन बनाएर जाने कुरा हुँदै छ। पुन: एकपटक भरतपुर धेरै ठाउँमा दोहोरिने वाला छ। कम्युनिस्टहरुको पुच्छर नलागी हुँदै नहुने थिति कांग्रेसमा बनिरहेको छ। फेरी चुनाव भयो भने हँसिया हथौडामा भोट माग्नु पर्ने स्थिति आउँछ त्यति बेला कांग्रेस कार्यकर्ताले के गर्छन? मलाइ चिन्ता यो विषयमा छ।

घिमिरेले दिल्लीमा गरिएको १२ बुँदे सम्झौता देखि देश र नेपाली कांग्रेसको दुर्गति सुरु भएको बताएका छन्। घिमिरेले अहिलेका विकृती र विसंगतिको जड नै १२ बुँदे भएकाले त्यसबारे पुन: विचार नगरेसम्म अराजकता र विग्रह नै देशको नियति हुने बताएका हुन्।

उनले भने, ‘१२ बुँदे बाट कांग्रेस ओरालो लागेको, भिरालो लागेको। यो देशको दुर्गति १२ बुँदेबाट सुरु भएको अब आज यहाँ पुगेको छ। अब पनि हामीले कोर्श करेक्सन नगर्ने हो भने के होला? १२ बुँदेले कांग्रेसलाई त नोक्सान भयो। देशले पनि ठूलो दुर्गति भोग्नु पर्यो।’

घिमिरेले अहिलेको संविधान विरोधाभासले भरिएकोले कार्यन्वयन हुने समभावना न्यून भएको बताए। एउटा धारा ७६ ले मात्र त देशमा भाडभैलो देखाइरहेको बेला त्यस्ता किसिमका धारा संविधानमा धेरै रहेको उनले जिकिर गरे।

देउवाले विगतका ३-४ महिनाहरुमा लिएको अडान पार्टीको हितमा भए पनि अहिले फसेको उनले बताए। घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल प्रति अत्यन्तै आक्रामक देखिए। उनले पौडेल अझै पनि कांग्रेसलाई कम्युनिस्टहरुको पुच्छर बनाउन उद्धत रहेको बताए। पौडेलको यस्तै नचाहिदो अडानले कांग्रेस र उनि दुवै त्यहिँ भेलमा बगेर जाने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *