ओलीलाई चुनौती, मैले हेरेर बस्नेवाला छैन असाधारण निर्णय गर्न सक्छु

ओलीलाई चुनौती, मैले हेरेर बस्नेवाला छैन असाधारण निर्णय गर्न सक्छु : सभामुख

राजनीति समाचार

काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको निर्णयलाई उनले चुनौती दिएका हुन् । संसद विघटनको निर्णय पछि निकै सकृय भएका सभामुख सापकोटाले विभिन्न पक्षसंगको छलफल र परामर्शलाई जारी राखेका छन् ।

विहिवार कानुनविद्हरुसंग उनले छलफल गरेका छन् । कानुनविदहरुको राय सुनिसकेपछि उनले अब असाधारण निर्णय लिने चुनौती दिएका हुन् । संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने उनले बताएका छन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने बताएका छन् ।

‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भने, ‘त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।’

उनले अब पार्टीका नेताहरुसंग छलफल गर्ने बताएका छन् । विहिवारको छलफलमा संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते गरेको प्रतिनिधि सभा विघटन कुनै हालतमा संवैधानिक नभएको भन्दै सभामुखलाई आफ्नो भूमिका बढाउन सुझाव दिएका थिए ।

संविधानविद्, डा चन्द्रकान्त ज्ञवाली, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा तथा टिकाराम भट्टराई लगायतले यस्तो सुझाव दिए पनि सभामुख सापकोटाले असाधारण निर्णय लिने चुनौती दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *