जसपा फुटेको संघारमा औपचारिक घोषणा ,

राजनीति समाचार

जनता समाजवादी पार्टी, नेपालको फुटको संघारमा पुगेको छ । पार्टीभित्र स्पष्ट दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन भने अर्को खेमाको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् ।

ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आएको छ भने यादव पक्षले कांग्रेस, माओवादी केन्द्र, एमालेबाट निश्काषनमा परेको माधव नेपाल समूह र जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनलाई साथ दिँदै आएको छ ।

ठाकुर पक्ष सरकारमा सहभागी हुनेगरि तयारीमा जुटेको छ । यसको लागि ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद गरिरहेका छन् । तर, पार्टीभित्रको विवादको कारण ठाकुर पक्षले सरकारमा सहभागी भैहाल्ने निर्णय भने गर्न सकेको छैन् ।

जसपामा अहिले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने होडबाजी नै चलेको छ । फागुन ८ गते पार्टीको कार्यकारिणी बैठक राखेर यादव पक्षले ठाकुरसहित चार जना नेतालाई स्पष्टीकरण सोधेको थियो ।

तर, त्यसको तीन दिनपछि हिजो मात्रै ठाकुरले उपेन्द्र यादवलाई नै स्पष्टीकरण सोधेका छन् । जसपाको सर्वोच्च निकाय कार्यकारिणी समिति हो । कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । पार्टीको विधान र हितविपरित काम गरेर पार्टीबाटै निश्काषन गरिने चेतावनी यादव पक्षले दिएकोले ठाकुर पक्षले पछिल्ला दिन कार्यकारिणी समितिमा नै बहुमत पुर्याउने कसरत गरिरहेको छ ।

यसको लागि ठाकुरसहितका नेताहरुले यादव पक्षमा रहेका नेता अशोक राईलाई फकाएका थिए । तर, राईले आफूले कुनैपनि हालतमा यादवको साथ नछोड्ने जवाफ दिएपछि ठाकुर पक्ष अब पार्टी फुटाएर भएपनि अघि बढ्ने निश्कर्षमा पुगेको स्रोतको दाबी छ । ठाकुर पक्षले पूर्व राजपा नै व्यँताउने निर्णय लिएको छ।

दल विभाजनसम्बन्धी प्रावधानअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत भए पार्टी विभाजन गर्न पाईनेछ । सोहीअनुसार ठाकुर पक्षले पूर्व राजपा व्यँताउने तयारी गरेको हो । भोलि नै यो पक्ष निर्वाचन आयोग जाने विश्वस्त स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *