स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी, एकैदिन २ सय १४ जनाको मृत्यु, ९ हजार २ सय ४७ मा संक्रमण

समाचार स्वास्थ्य

३ जेठ, काठमाडौं
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार २१५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार २४७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा नौ हजार २४७ जनाको नतिजा पोजिटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ७६७ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

यसैबीच, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सरकारको तयारीभन्दा कोरोनाको प्रकृति र आक्रामकता उच्च देखिएकाले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा आइतबार बसेको सीसीएमसीले संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको र महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको हो ।

यसका लागि आवश्यक तयारी गर्नका लागि कानून मन्त्रालय र सम्बद्ध निकायलाई भनिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनले स्वास्थ्य संकटकालका बिषयमा पनि छलफल भइरहेको भन्दै अहिले संक्रमण रोग ऐनले नथामेको, गर्न नसकेको के के काम चाहिँ स्वास्थ्य संकटकाल लगाएर सजिलो हुन्छ भन्ने बारेमा तुलनात्मक अध्ययन भइरहेको बताए ।

कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला सरकारले संकटकाल लगाउन कानून निर्माणको तयारी थाल्ने भएको छ ।

आईतबार कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसी को आईतबार सिंहदरबारमा बसेको विशेष बैठकका निर्णयबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा संकटकाल लगाउनेबारे छलफल भएको जानकारी दिए ।

‘कोभिड–१९ संक्रमणको महामारीसँग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउनेबारे पनि छलफल भएको छ,’ उनले भने । स्वास्थ्य संकटकाल लगाउनका लागि विद्यमान संक्रामक ऐन २०२० स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानून बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग समेत छलफल गरिएको मन्त्री ज्ञवालीले बताए ।

बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिए । ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिए ।

ओलीले झन्झटिला प्रक्रिया छोट्याएर, कानून मिलाएर, प्रक्रिया मिलाएर भए पनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएका मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्रीले दिएको निर्देशनबारे बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान हुँदैन भन्नुभएको छ । प्रक्रिया झन्झटिला छन् भने छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानून मिलाउनुपर्ने भए कानून मिलाउनुहोस्, प्रक्रिया मिलाउनुपर्ने भए प्रक्रिया मिलाउनुहोस्, र्‍यापिड रेस्पोन्स टीम बनाउनुहोस् तर हरहालतमा नागरिकको जीवन रक्षा हुनुपर्‍यो, उहाँले भन्नुभएको छ ।’

तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमान्ड चार्ज लगायतका छुट दिएर उत्पादन बृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । उनले लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्यांकरको प्रबन्ध गरिने बताएका छन् ।

उद्योगीले सबै सिलिण्डर स्वास्थ्य निकायलाई बुझाएकाले बिस्तारै सिलिण्डर अभावको समस्यामा कमी आउँदै गएको तथा चीन र ओमानबाट आउँदै गरेका र निजी क्षेत्रले मगाएको सिलिण्डर भित्रिएपछि सिलिण्डर अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *