वेटर हुँदै दोहोरी गायिका बनेकी गीताको जिवनशैली, पढ्नुहोस् हौसला मिल्नेछ

मनोरन्जन

मकवानपुर
घरायसी आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नका लागि भनेर उनले विद्यालयमा पाइला पनि टेकिनन्। एक दाइकी बहिनी र एक भाइकी दिदि गुल्मीकी गीता केसी १७ वर्षको उमेरमा पैसा कमाउने सपनामा अर्काको घरमा काम गर्न थालिन्।

आर्थिक अवस्था कमजोर भएकाले पढाईभन्दा पनि उनले कामलाई प्राथमिकता दिइन्। अर्काको घरमा काम गर्दागर्दै एकजना बहिनीले दोहोरीमा वेटरको काम गर्न सुझाव दिइन्। आफूले पनि दोहोरीमा वेटरको काम गरेको, पैसा पनि कमाइने र काम पनि पाइने भनेपछि गीतालाई पनि दोहोरीमा काम गर्ने रहर लाग्यो। अनि बहिनीसँग तुरुन्त सहमति जनाइन् र बुटवलस्थित एक दोहोरीमा वेटरको काम गर्न थालिन्।

वेटरमा डेढ वर्षजति काम गर्दा अरू गायिक(गायिकाले दोहोरी गाएको देख्दा अब वेटर होइन गायिका पो बन्नुपर्‍यो भन्ने उनमा सोच आयो। उनलाई आफूले नपढेकोमा नरमाइलो लाग्यो तर पनि उनले जसरी पनि गाएरै छाड्छु भन्‍ने अठोट लिइन्।

सानैमा टेलिभिजनमा गायक गायिकाले गीत गाएको देखेको अनि रेडियोमा सुनेको केही गीत त उनलाई याद पनि थियो। सोचिन्, ‘लोकगीत गाउन त सकिहाल्छु नि। के गाह्रो होला ररु’ अनि आफू अब वेटर मात्र भएर बस्ने होइन कि गाउन पनि सक्छु भनेर उनले त्यहाँ भनिन्। तर, वेटर काम गरेकालाई गीत गाउने स्थान सञ्‍चालकले दिएनन्।

आफूमा हिम्मत र क्षमता हुँदाहुँदै पनि अवसर नदिएको भन्ने ठानेर उनले जहाँ अवसर पाइन्छ, त्यहीँ जाने सोच बनाइन्। त्यसपछि बुटवलकै अर्को एउटा दोहोरी साँझमा काम सुरु गरिन्। गाउनका लागि अवसर त पाइयो तर सुरुसुरुमा उनलाई सजिलो त रहनेछ गाउनलाई भन्ने लाग्यो।

सञ्‍चालकले दोहोरी, सुर–ताल सिक्ने अवसर दिलाइदिए। त्यही सिक्दै बुझ्दै गइन्। दोहोरी साँझमा गीत गाउने अभ्यास गरिरहिन्। हिम्मत हारिनन्। सिक्दै–गाउँदै गर्दा उनी दोहोरीमा अरूको रुचिअनुसारको गीत सुनाउन उनी अब्बल बन्दै गइन्।

लुम्बिनीमा गायन कलाले ग्राहक–श्रोताको ध्यान तान्न सफल गीतालाई काठमाडौंको एउटा दोहोरी साँझबाट अवसर आयो। उनले मनमनै निर्णय गरिन्, ‘अब काठमाडौं गएर अझै राम्रो गर्छु।’ अनि नयाँ जीवन सुरु गर्ने सोच बोकेर उनी काठमाडौं गइन्।

काठमाडौंको सामाखुशीको एक दोहोरीमा केही महिना काम गर्न थालिन्। तर काठमाडौं उनलाई सोचेजस्तो लागेन। नयाँ ठाउँ मात्र नभई आफ्ना भन्ने पनि कोही नभएकाले काठमाडौं उनका लागि बिरानो लाग्यो। ‘बिहान बेलुकाको छाक टार्ने, कोठाभाडा तिर्ने, अनि आफ्ना अरू आवश्यकता कसरी पूरा गर्नेरु’ काठमाडौंमा सङ्घर्ष गर्न नसकिने रहेछ भन्ने ठानेर उनी दोहोरी साँझमै काम गर्ने गरी नुवाकोट गइन्।

नुवाकोटमा केही समय काम गरेर उनी फेरि काठमाडौं नै फर्किइन्। उनको कर्म त उही हो– गाउने, नाच्ने अनि श्रोता दशर्कलाई मनोरञ्‍जन प्रदान गर्ने। काठमाडौंमा रात्रिकालीन दुनियाँमा गायर अरुलाई मनोरन्जन दिँदै उनका दिनहरु बित्न थाले।

अब दोहोरीमा गाउन छाडिदिउँ कि भन्ने उनलाई लागिरहेका बेला हेटौंडाबाट दोहोरी साँझमै प्रस्ताव आयो। अन्यत्रको तुलनामा हेटौंडा उनलाई मनपर्‍यो। हेटौंडामा गाउँदा समयमै तलब पाउन थालिन्। ग्राहकको रुचिअनुसारको गीत गाउँदै हेटौंडाको दोहोरी साँझमा उनको दैनिकी बितिरहेको थियो। कोरोनाका कारण उनले दोहोरीसाँझ बन्द भएको र उनी पनि अहिले बिदामा छिन्।

जीवनमा पैसा कमाउने सोच बोकेर सानैमा घर छाडेकी गीता २३ को उमेरमा आइपुग्दा आफ्नो पेशालाई हेर्ने नजर मान्छेको सोचमा भर पर्ने बताउँछिन्। ‘मनोरन्जनको क्षेत्रमा काम गर्दा अरुले गर्ने व्यवहारले कहिलेकाहीँ चित्त दुख्छ।’ उनी भन्छिन्, ‘तर पनि आफ्नै काम नै यही भएकाले आफूले आफूलाई सम्झाउँदै अघि बढ्दै आइरहेकी छु।’ उनी भन्छिन्।

दोहोरी साँझ तथा रेष्टुरेन्टमा काम गर्ने महिलाहरुमाथि दुर्व्यवहार यौनहिंसा हुने गरेको उनले सुने पनि आफूमाथि भने त्यस्तो नभएको उनको अनुभव छ। दोहोरी साँझहरुमा मानिसहरु आउँने, रक्सी खाने, रमाइलो गर्नेमात्र होइन, झगडा गर्ने, नराम्रो भन्ने, गलत नजरले हेर्ने गरेको पाइए पनि आफ्नो पेशामा कसरी सुरक्षित रहने आफूमा पनि भर पर्ने उनको बुझाई छ।

आफूभन्दा पाका उमेरका दिदिहरुसंग सल्लाह लिँदै आफ्नो पेशालाई निरन्तरता दिइरहने उनको सोच छ। घरका बाबुआमा, भाई हेर्ने दायित्व पनि आफूमाथि भएकाले कोरोना माहामारी जस्ता विपद्का कारण काम रोकिँदा आफूलाई असर पर्ने उनी बताउँछिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *