प्रधानमन्त्री ओलीलाई प्रचण्डको फोन, अब फेरी पार्टी एकता गरम कमरेड

राजनीति समाचार

३१ बैशाख

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको भनेका थिए।

उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो भनेर जिज्ञासा राखेका थिए।

त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ।

दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ।

करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आग्रह गरेका थिए। ‘तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि,’ दाहालेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

तर त्यसको जबाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए।

ओली–नेपाल भेटघाटपछि बसेको माओवादी केन्द्रको बैठकमा भने हरिबोल गजुरेल र देवेन्द्र पौडेलले माधव नेपालले धोका दिन्छन् भन्ने पहिला नै थाहा भएको र त्यतिबेला ओलीसँग मिलौं भन्दा नमानेको भन्दै दाहालको आलोचना गरेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

बुधबार साँझ ओलीनेपाल मिलाउन निर्णायक बनेको त्यो एक घण्टा

सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका माधव नेपाल समूहले एकाएक युटर्न लिँदै ओलीलाई समर्थन गर्न पुगेपछि विपक्षी गठबन्धन पछाडि हट्न बाध्य बन्यो । बुधबार साँझसम्म पनि माधव नेपाल समूहले राजीनामा दिने कुरा करिब करिब निश्चित नै थियो । नेपाल समूहका केही सांसदहरुले सार्वजनिकरुपमा नै आत्मसमर्पण हैन विद्रोह समेत भन्दै आएका थिए ।

तर बुधबार साँझदेखि जे जसरी घटनाक्रम विकास भए, त्यसले घटनाक्रम पुरै उल्टियो । नेकपा एमालेले बिहिबार बिहान स्थायी कमिटीको आकस्मिक बैठक बोलाउँदै माधव नेपाल पक्षका ४ जना नेतामाथिको निलम्बनको कार्वाही फुकुवा गर्यो भने अपरान्ह नेपाल र ओलीबीच ४ घण्टा वार्ता सम्पन्न भयो ।

यो वार्ता नै विपक्षी गठबन्धनलाई पछाडि धकेल्ने प्रमुख घटना बन्न पुग्यो ।

वार्ता भएको थियो व्यापारी रामेश्वर थापाको निवासमा ।

नेपालको राजनीतिमा केही थान व्यापारीहरुको निर्णायक भूमिका रहने कुरा देखियो ।

तर ४ घण्टाको त्यो वार्ताको पृष्ठभूमि भने अघिल्लो राती नै माधव नेपाल निवास कोटेश्वरमा भएको थियो ।

र, यसका सुत्राधार थिए गोकुल बास्कोटा ।

गोकुल बास्काटोले त्यसदिन माधव नेपाललाई कन्भिन्स गर्न नसकेको भए सम्भवतः बिहिबारको ४ घण्टे वार्ता पनि सम्भव हुने थिएन होला ।

नयाँ पत्रिका दैनिकमा उल्लेख भए अनुसार, बास्कोटाले अर्का नेता गोकर्ण विष्टको उपस्थितिमा माधव नेपाललाई कन्भिन्स गरेका थिए । पत्रिकामा लेखिएको यो अंश पढौं ।

प्रधानमन्त्री ओलीको निर्णायक सन्देशसहित बुधबार साँझ पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नेपालनिवास कोटेश्वर पुगेका थिए । पूर्वमन्त्री गोकर्ण विष्टसहितको उपस्थितिमा एक घन्टाको कुराकानीमा बाँस्कोटाले ओलीको सन्देश दिए, ‘मिल्ने नै हो भने पार्टीलाई २ जेठ ०७५ को अवस्थामा फर्काउन प्रधानमन्त्री पनि तयार हुनुहुन्छ । तर, त्यसका लागि बिहीबार २ बजे उहाँसँग निर्णायक वार्ता गर्नुपर्छ ।’

उनले त्यसका लागि नेपाल पक्षले सामूहिक राजीनामा नदिने, संस्थापनले कारबाही फिर्ता गर्ने, समाधानका लागि कार्यदल बनाउने र ओली–नेपालले अन्तिम वार्ता गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, बाँस्कोटाको त्यस्तो सन्देश नेपालले तत्कालै पत्याउन सकेनन् । त्यसैले नेपाललाई विश्वस्त बनाउन लामो भूमिका नै बाँधेको बाँस्कोटालाई उद्धृत गर्दै स्रोतले बतायो ।

बाँस्कोटाले पनि आफूले पार्टी एकता जोगाएर लैजान सकिने विषयमा नेपाललाई आश्वस्त पार्ने कोसिस गरेको स्वीकार गरे । ‘अहिलेको विशाल एमाले बनाउन कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्दै आजको स्थितिमा ल्याउने कामको नेतृत्व तपाईंहरूले नै गर्नुभएको हो, आफूलाई कोकेदेखिको संस्थापक भन्नुहुन्छ, तर अहिले आन्दोलनको रक्षा गर्ने कि नगर्ने मूल प्रश्न खडा भएको अवस्थामा तपाईंहरू कसैले पनि आन्दोलनलाई धोका दिनुहुँदैन भनेको हुँ,’ कुराकानीको सार उद्धृत गर्दै बाँस्कोटाले भने, ‘पार्टीभित्र अन्तर्संघर्ष चलिराख्छ, तपाईं नेतृत्वमा हुँदा पनि चलेकै थियो, आज पनि चलेको छ, यसलाई इगोको विषय नबनाई आन्दोलनको रक्षा गर्ने, पार्टी एकता जोगाउन लाग्ने हो भने कुरा मिलिहाल्छ ।’

बाँस्कोटाको यस्तो प्रस्तावपछि नेपालले आफू सकारात्मक रहेकाले पुनर्विचार गर्ने जवाफ फर्काएका थिए । तर, पुनर्विचारको सट्टा बिहीबार दिउँसो २ बजे भेटेर सहमति गर्न प्रधानमन्त्री तयार भइसकेको बाँस्कोटाले सन्देश दिएका थिए । ‘तपाईंको कुराबाट म सकारात्मक बनेँ, म पुनर्विचार गर्छु,’ नेपालको यस्तो जवाफपछि बाँस्कोटाको भनाइ थियो, ‘पुनर्विचार होइन, भोलि नै २ बजे बैठक गरौँ, प्रधानमन्त्री सहमतिका लागि तयार हुनुहुन्छ ।’

त्यसपछि पनि नेपालले सहमतिका लागि वातावरण बन्नुपर्ने अडान राखेपछि २ जेठमा फर्किने गरी सहमतिको वातावरण बन्ने र आफू पनि सहमतिका लागि तयार रहेको अवगत गराउने जवाफ फर्काएका थिए । नेपाल वार्ताका लागि तयार भएको बाँस्कोटाको सन्देशपछि ओलीले बेलुकी नै कोर टिममा छलफल गरेर कारबाही फिर्ता लिनका लागि बैठक बोलाइएको र पार्टी मिलाउन कार्यदल बन्ने सन्देशसहित विष्णु पौडेललाई कोटेश्वर निवास पठाएका थिए ।

बाँस्कोटासँगै नेपालसँग कुराकानी गरेका विष्टले पनि प्रधानमन्त्री निर्णायक वार्ताबाट सहमति गर्न तयार भएको सन्देश सुनाएका थिए । नेपालको अनुमतिमा बालुवाटार पुगेका विष्टले पनि बाँस्कोटाकै शैलीमा सहमतिको वातावरण बनेको बताएपछि नेपाल बुधबार राति नै सकारात्मक बनेका थिए । बुधबार राति र बिहीबार बिहान ओली–नेपाल टेलिफोन वार्तापछि वार्तास्थल र समय तय भएको थियो ।

बाँस्कोटा, विष्ट र पौडेलसँग नेपालले गरेको संवादपछि बिहीबार बिहान स्थायी समिति बैठक बोलाएर संस्थापन पक्षले नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने कारबाही फुकुवा गरेको थियो । त्यस्तो निर्णयले पार्टी एकताको पक्षमा सकारात्मक प्रभाव पार्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । ‘हाम्रोतर्फबाट एकताका पक्षमा हदैसम्म प्रयास गरेका छौँ,’ ज्ञवालीले भने, ‘यसले सकारात्मक प्रभाव पर्ने हामीलाई विश्वास छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लाग्नुभएको हो ।

गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिनुभएको थियो । ३ दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहले सहयोग नगर्दा विपक्षी गठबन्धनको बहुमतीय सरकार बन्न असफल भएको हो ।

जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हट्नुभएको थियो ।

पुनः नियुक्ति पाउनुभएका प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर समूह र आफ्नै पार्टीभित्रको असन्तुष्ट खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुभएन भने फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ । ७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

तर, धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *