पार्टीलाई एकताबद्ध बनाउदै नेपाल पक्ष, तत्काल राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

राजनीति

बैशाख २७, काठमाण्डौ
नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले तत्काल राजीनामा नदिने र आजको प्रतिनिधिसभा बैठकमा उपस्थित पनि नहुने निर्णय गरेको छ ।

सामूहिक राजीनामा दिने तयारी भए पनि केही सांसदले यसको विरोध गरेपछि उनीहरु यो निर्णयमा पुगेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले पार्टी अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै हुनुहुन्छ ।

खनाल–नेपाल समूहका सांसद उपस्थित नहुने भएपछि ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ । नेपाल–खनाल समूहका कति सांसद अनुपस्थित हुन्छन् भन्ने यकिन भैसकेको छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अन्तिम समय सकिएको छ ।

२०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै खनाल समूहले अहिले ९ बजेसम्मको समय दिएको थियो । अहिलेसम्म अध्यक्ष ओली र ओली समूहबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । केहीबेरमा आफूहरु राजीनामा दिनका लागि जाने तयारी भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

बसेर थप छलफल गर्नका लागि आफूहरु तयार भएको भए पनि पार्टी निकै अघि बढिसकेकोले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने सम्भावना नरहेको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाइ छ । उहाँले आफ्नै पार्टी नेतृत्वविरुद्ध गठबन्धन गर्ने अनि फेरि २०७५ को जेठ २ मा फर्केर सबै निर्णय बदर गर्नुपर्छ भन्ने माग जायज नभएको बताउनुभयो ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदै हुनुहुन्छ । खनाल–नेपाल समूहले राजीनामा दिने भएसँगै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएर तुरुन्तै पुनःनियुक्ति लिने तयारी गरेका छन्।

पूर्व निर्णयाअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत प्राप्त नहुने निश्चित देखेपछि प्रधानमन्त्री ओलीले बरु त्यसअघि नै पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका हुन्।

प्रधानमन्त्री ओलीनिकट एक उच्च नेताका अनुसार सम्भवतः ओलीले आज ११र१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।

विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले सहज बाटो रोज्ने योजना बनाएको ती नेताले बताए।

‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो,’ ती नेताले भने, ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो योजना बनेको हो।’

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११र१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउने छन्। र, राष्ट्रपतिले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ।

यही तयारीअनुसार काम भयो भने पाँच वर्षअघिको घटना दोहोरिनेछ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा हतारहतार राजीनामा दिएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *