हेटौँडा उपमहानगरमा कोरोना सङ्क्रमित बोक्न निःशुल्क एम्बुलेन्स

समाचार

बैशाख २३, मकवानपुर
हेटौँडा उपमहानगरपालिकाले कोरोना भाइरस सङ्क्रमित बिरामी घरबाट अस्पताल वा आइसोलेशनमा ल्याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

सङ्क्रमित बिरामीलाई ल्याउनका लागि कुनै पनि एम्बुलेन्सले आनाकानी गर्ने भएकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । अहिले हेटौँडाको गौरीटार आइसोलेशन र हेटौँडा अस्पताल र भरतपुरसम्म कोरोनाका बिरामी लैजानका लागि एम्बुलेन्सले सेवा दिइरहेको मेयर महतले बताउनुभयो । एम्बुलेन्स चौबीसै घण्टा गौरीटार आइसोलेशनमा राख्ने गरिएको छ ।

बिरामीको फोन आउनेबित्तिकै घरघरमा लिन जाने गरिएको मेयर महतको भनाइ छ । कोरोना महामारीको समयमा पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि नागरिक खुसी भएका छन् ।

हेटौँडा उपमहानगरपालिका गौरीटारमा ३५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । उपमहानगरपालिकाले आफ्नै लगानीमा ३५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको हो । हेटौँडाका कोरोनाका बिरामीलाई उपचार गर्नका लागि सहज होस् भन्ने उदेस्यले डाक्टर सहितको आइसोलेसन सेवा सुरु गरिएको मेयर महतले बताउनुभयो ।

कोरोना सङ्क्रमणका गम्भीर बिरामीलाई हेटौँडा अस्पतालको आईसीयू र एचडीयूमा राखेर उपचार गरिने र अरू सामान्य खालका बिरामीलाई गौरीटारको आइसोलेशनमा उपचार गरिने उहाँको भनाइ छ । अहिले ३५ शय्याको आइसोलेशन सञ्चालन गरे पनि अवस्था हेरेर बढाउँदै जाने मेयर महतले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *