माओवादी केन्द्रले समर्थन फिर्ता लियो।।प्रधानमन्त्री ओलि माथी विभिन्न गम्भीर आरोप।।

Uncategorized राजनीति

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ ।

त्यस्तै संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्यमान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएर राजनीतिलाई सत्ताको फोहोरी खेलका रुपमा निकृष्ट ढंगबाट सञ्चलन गरेको पनि माओवादीको आरोप छ ।
माओवादी केन्द्रले ओलीले राष्ट्रिय मुद्दालाई सौदाबाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेको समेत बताएको छ ।
साथै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र संसदीय मान्यता विपरित आदेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत् हुँदै गएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको उल्लेख छ ।
‘सर्वोच्च अदालतको फागुन २३ को निर्णय पश्चात ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएकाले माओवादी केन्द्रको निर्णय र नेकपा माओवादी संघीय संसदीय दलको निर्णयअनुसार प्रम केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजैका मितिदेखि लागु हुनेगरी फिर्ता लिएको जानकारी गराउँछु’, अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको समर्थन फिर्ता पत्रमा भनिएको छ।
यो पनि पढ्नुहोस……
काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि सबैको ध्यान यति बेला संसदमा तानिएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सांसदको कुल संख्याको बहुमत अर्थात् १ सय ३६ मत प्राप्त गर्नुपर्छ। माओवादी केन्द्रका चार सांसदको पद खारेज भएपछि २ सय ७५ सदस्यीय संसदमा हाल २ सय ७१ सदस्य छन्।

संसदमा एमालेको १२१ मत छ। ती सबै मत प्रधानमन्त्री ओलीले पाए पनि विश्वासको मत पुर्‍याउन थप १५ जनाको समर्थन चाहिन्छ। यसका लागि उनले अन्य दलबाट सहयोग पाउनुपर्छ। कुनै बेला झन्डै दुईतिहाइ बहुमतनजिक रहेका ओलीलाई अहिले विश्वासको मत जुटाउन चुनौतीपूर्ण देखिएको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आफ्नै दलका सबै सांसदलाई एकताबद्ध गरी जनता समाजवादी पार्टी ९जसपाको केही मत तान्नुपर्ने हुन्छ। माओवादी केन्द्र निकट स्रोतले भन्यो, ‘अहिलेसम्म जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई मत दिँदैन भन्ने छ। कांग्रेस, माओवादी केन्द्र र जसपा एकातिर भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्दैनन्।
विश्वासको मतको कार्यसूची वैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा राखिनेछ। विश्वासको मतमा सांसदले धारणा राख्न खोजे समय दिइनेछ। धारणा राख्ने क्रम सकिएपछि सम्भवतः २८ गते विश्वासको मतका लागि मतदान हुनेछ। पक्ष र विपक्षमा मतदान गर्न लबी विभाजन गरिनेछ। सदनमा एमालेका १२१, नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका ३२, राप्रपाका १, राष्ट्रिय जनमोर्चाका १ र नेपाल मजदुर किसान पार्टीका १ सदस्य छन्।
जनता समाजवादी पार्टीभित्रको केही मत प्रधानमन्त्री ओलीलाई गयो भने पनि बहुमत पुग्दैन। विश्वासको मत पुर्‍याउन जसपाले एक ढिक्का भएरै प्रधानमन्त्रीको पक्षमा मत दिनुुपर्छ। त्यसैले प्रधानमन्त्री ओली आफ्नो पक्षमा बहुमत पुर्‍याउने र विपक्षी दल कांग्रेस, माओवादीलगायतको बहुमत पुग्न नदिने गृहकार्यमा लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *