यस्तो खुसीको खबर आयो : तीन महिनाका लागि दैनिक उपभोग्य वस्तु अभाव हुंदैन

समाचार

बैशाख २१, काठमाण्डौ
चामल, दाल, चिनी जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्यवस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको बताउनुभयो ।

महानिर्देशक पौडेलले बजारमा खाद्य पदार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो(‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्यूनतम वस्तुको स्टक करिब तीन महिनालाई अझै पनि हामीलाई सप्लाइमा समस्या छैन । नआए पनि पुग्छ । खाद्य पदार्थको आपूर्ति सहज छ । उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरे मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो(‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा वस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ।’

दैनिक उपभोग्य वस्तुहरु, मास्क, स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उहाँको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *