भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु, नेपाल दक्षिण एसियामै पहिलो भएको प्राधिकरणको दाबी

समाचार

बैशाख १८, काठमाण्डौ
नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ ।

प्राधिकरणले आज राति १२ बजेबाट २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेञ्ज बजारबाट खरिद गरी ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ।

योसँगै भारतीय ऊर्जा एक्सचेञ्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताउनुभयो ।

पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत खरिद गर्न प्राधिकरण सफल भएको कार्यकारी शाक्यले उल्लेख गर्नुभयो ।

शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३ रुपैयाँ ८१ पैसा भारतीय रुपैयाँ रहेको उल्लेख गर्नुभयो ।

‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिवारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत पाएका छौँ, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ ’ उहाँले भन्नुभयो ।

प्राधिकरणले अहिले भारतबाट ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ४ रुपैयाँ १८ पैसा भारु छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर(मुजफ्फरपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *