‘गाडीमा ब्यानर र साथमा परिचय पत्र राख्नुहोस्, रोकतोक हुँदैन’

समाचार

बैशाख १७, काठमाण्डौ
चितवनको खैरहनी नगरपालिका १० का सीताराम अर्याल व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । अहिले टमाटर टिप्न र बजार पठाउन थालिएको छ । अघिल्लो हप्तादेखि खरबुजा पनि बेच्न सुरु भइसक्यो।

दैनिक ५र६ गाडी तरकारी, फलफूल ढुवानी हुँदै आएको अर्याल बताउनुहुन्छ । अर्यालले उत्पादन गर्ने तरकारी तथा फलफूलको मुख्य बजार पोखरा र काठमाण्डौ हो । तर काठमाण्डौमा निषेधाज्ञा सुरु भएपछि उत्पादन भएका तरकारी बजारसम्म पुर्याउन र भाउ पर्नेगरी खपत गर्न नसकिएला कि भन्ने चिन्ता सुरु भएको छ ।

अहिले बजार पठाउन नसके टमाटर तथा खरबुजामा गरेको लगानी र मेहनत खेर जान्छ । पछि बेचौँला भनेर भण्डारण गरेर राख्न सक्ने पनि अवस्था छैन । उहाँ भन्नुहुन्छ, ‘हामीले उत्पादन गरेका वस्तु जसरी पनि बजारमा पुग्नुपर्छ, सरकारले तरकारी फलफूलजन्य गाडी नरोके उत्पादन बजार पठाउन सहज हुन्थ्यो ।’

तरकारी र फलफूलसँगै दूध उत्पादन गर्ने किसानको पनि उस्तै चिन्ता छ । खैरहनी नगरपालिका १२ का कृष्ण भण्डारीको डेरी उद्योग छ । उहाँले झण्डै चार सय गाई पाल्नुभएको छ । दैनिक झण्डै १५ सय लिटर दूध उत्पादन हुन्छ । ‘गएको वर्ष हामीलाई निक्कै गाह्रो भयो’ लकडाउनमा भोग्नुपरेका समस्या सम्झँदै भण्डारी भन्नुहुन्छ,‘ अघिल्लो वर्ष जस्तो नोक्सानी त नहोला तर केही न केही समस्या पर्न सक्छ ।’

उहाँका अनुसार मुख्य बजार काठमाण्डौमा निषेधाज्ञा गर्ने निर्णय भएपछि कतिपय उपभोक्ता गाउँ गएका कारण खपत कम हुने अनुमान छ । पोहोर आफ्नै साधन नहुँदा दूध पठाउन नसकेको तर यसपालि ढुवानी गर्न गाडी बन्दोबस्त भएकाले सरकारले ढुवानी नरोके सहजै बजार या उद्योगमा पठाउन सक्ने उहाँ बताउनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *