वडा नं. ११ मा अपांगता भएका व्यक्तिलाई सीप विकास व्यवसाय प्रवद्र्धन तथा विउ पुँजी वितरण

समाचार

कपिलवस्तु, बैशाख १०
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ का अपांगता भएका व्यक्तिहरुलाई अपांग सीप विकास व्यवसाय प्रवद्र्धन तथा विउ पुँजी वितरण कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरिएको छ । अपांग उत्थान समाज कपिलवस्तुको आयोजना, वडा कार्यालय र द ल्याप्रोसी मिसन टु नेपाल अन्तर्गत फाउण्ड परियोजनाको आर्थिक सहयोगमा वडाका ६ जना अपांगता भएका व्यक्तिहरुलाई रोजगार स्वरोजगार बनाउने उद्देश्यले सहयोग गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिएका छन् ।

वडा कार्यालयको चालु आर्थिक बर्षको अपांग सिप विकासका लागि विनियोजित ७० हजार बजेटबाट जनही १० हजारका दरले र फाउण्ड परियोजनाको रु १५ हजार गरी जनही २५ हजारका दरले ५ जनालाई र १ जनालाई १० हजार आर्थिक सहयोग गरिएको फाउण्ड परियोजनाका रोजगार परामर्शदाता गीता अर्यालले बताईन् ।ईश्वरी पौडेल, नुन प्रसाद तिवारी, अजय कुमार अहिर र अन्जु थारुलाई किराना पसल व्यवसाय गर्नका लागि, विफई थारुलाई बंगुर पालनका लागि र टेक बहादुर दर्जीलाई सिलाईकटाईका लागि पुँजी प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सोमनाथ अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै अपांगता भएका व्यक्तिहरुका लागि पनि वडाले समावेशी रुपमा कार्य गरेको बताए । अपांगता भएका व्यक्तिहरुको जिवनस्तर उकास्न र जिविकोपार्जन गर्न सक्ने बनाउनु वडाकार्यालयको दायित्व रहेको बताए । वडाध्यक्ष अर्यालले यो बर्ष विनियोजन गरिएको बजेटले सबै अपांगता भएका व्यक्तिहरुलाई समेट्न नसकिएकाले आगामि बर्ष पुनः प्राथमिकताका साथ बजेट विनियोजन गरि आवश्यक कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै फाउण्ड परियोजनाका कलस्टर म्यानेजर रामदयाल यादवले यो परियोजनाको उद्देश्य र यसको कार्यक्षेत्रबारे स्पष्ट पारेका थिए । उनले जो सुकै जति वेला पनि अपांगता हुन सक्ने भन्दै अपांगता भएका व्यक्तिका घाउमा मलम लगाउदै हिडेको बताए ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुगांनाले प्रदान गरिएको रकमको सदुपयोग गर्न आग्रह गर्दै सधै अपांगता भएका व्यक्तिहरुलाई जिविकिोपार्जनको स्तरमा लैजान आफु प्रतिवद्ध रहेको बताए ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुगांनाको अध्यक्षता, वडाध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, परियोजनाका कलस्टर म्यानेजर रामदयाल यादवको विशिष्ट आतिथ्यता, वडा सदस्य वाजवुललैन शाह, जगनारायण थारु, साबित्रा विक, अपांग उत्थान समाज वाणगंगा नगर समिति सचिव बेलराम खराल लगायतको आतिथ्यता, फाउण्ड परियोजना व्यवसाय विकास अधिकृत ढाकाराम अधिकारीको स्वागत मन्तब्य तथा फाउण्ड परियोजनाका रोजगार परामर्शदाता गीता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *