४ दिनमै सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै, सकभर घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

समाचार स्वास्थ्य

 बैशाख ८, काठमाण्डौ
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आग्रह गर्नुभयो । उहाँले पछिल्ला दिनको तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको बताउनुभयो ।

आज मात्रै दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यही दरमा सङ्क्रमण बढ्दै गए सरकारको संरचनाले धान्न नसक्ने हुँदा आम नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा। गौतमको भनाइ छ ।

मन्त्रालयले समुदायमा पनि सङ्क्रमण फैलिरहेको जनाएको छ । काठमाण्डौलगायत देशका मुख्य सहरहरूमा बढी सङ्क्रमण दर बढेको पाइएको छ ।

यसैबीच मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न प्रयोगशाला, प्रयोगशालमा प्रयोग हुने उपकरण र सामग्रीका साथै रेडियो इमेजिंग सेन्टरमा प्रयोग गरिने उपकरण गुणस्तरीय एवम् भरपर्दो हुनुपर्ने जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति नै निकालेर भनेको छ, प्रयोगशाला र रेडियो इमेजिंग सेन्टरमा प्रयोग हुने उपकरण तथा रिएजेन्टहरू खरिद, प्रयोग र उपयोग गर्दा यूएए–एफडीए, ईयूसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्री प्रचलनमा ल्याउन सबै सरोकारवालामा अनुरोध गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *