काठमाडौं । भारत र अस्ट्रेलियाबीचको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियाले जित निकालेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा आज सम्पन्न सिरिजको अन्तिम खेलमा भारतलाई १२ रनले हराउँदै अस्ट्रेलियाले सान्त्वना जित निकालेको हो। यद्यपि सिरिज भने भारतले २-१ ले जितेको छ।
आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको छ। अस्ट्रेलियाका लागि म्याथिउ वेडले सर्वाधिक ८० रन बनाउँदा ग्लेन म्याक्सवेलले ५४ र स्टिभ स्मीथले २४ रन बनाए। यसबाहेक अन्य ब्याट्सम्यानको ब्याटिङ जम्न सकेन्।
उता भारतका लागि वासिङटन सुन्दरले २ विकेट लिँदा टी नटराजन र सार्दुल ठाकुरले समान १/१ विकेट लिए। १८७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको भारत ७ विकेट गुमाउँदै १७४ रनमा सीमित भयो।
भारतका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ८५ रन बनाउँदा शिखर धवनले २८ तथा हार्दिक पाण्ड्याले २० रन जोडे।
भारतलाई लक्ष्यसम्म पुग्न नदिन अस्ट्रेलियाका मिचेल स्विपसनले ३ विकेट लिए भने ग्लेन म्याक्सवेल, सिन अब्बोट्, एन्ड्र्यु टाइ र एडम जम्पाले समान १/१ विकेट लिए। यसअघि सिरिजका अघिल्ला दुई खेलमा भारतले पहिलो खेलमा ११ रन र दोस्रो खेलमा ६ विकेटले जित निकालेको थियो।