काठमाडौंमा २ हजारको परीक्षण गर्दा एक जनामा पनि देखिएन को’रोना

समाचार

काठमाडौं : काठमाडौं उपत्यकामा समुदायस्तरमा को’रोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जानकारी दिए।

पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि महाशाखाले समुदाय स्तरमा संक्रमण फैलिएको छ वा छैन पत्ता लगाउन परीक्षणको दुइटा रणनीति तय गरेको थियो । जसमा कम्तिमा ६ हजार जनाको परीक्षण गर्ने भनिएको हो । महाशाखाले परीक्षण गर्न उपत्यकाको तीनै जिल्लाका १२ वटा ठाउँ छनोट गरेको थियो। प्रत्येक ठाउँबाट १ सय ८० वटासम्म स्वाब संकलन गरिएको थियो।

ती ठाउँबाट संकलन गरिएको स्वाबमध्ये टोखा नगरपालिकास्थित हरियाली बस्तीका तीन जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेकी महिला हुन् भने बाँकी दुईजना स्थानीय हुन्। त्यसबाहेक बाँकी ठाउँहरूबाट संक लन गरिएको स्वाब भने कुनै पनि पोजेटिभ देखिएन। त्यसबाहेक महाशाखाले अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामी, ओपिडीमा आउने बिरामी र स्वास्थ्यकर्मीहरूको समेत परीक्षण गर्ने भन्यो।

त्यस्तै बैंक,मालपोतजस्ता धेरै भीडभाड हुने स्थानहरूमा आउने सेवाग्राही र कर्मचारीको समेत परीक्षण भइरहेको छ। महाशाखाले चार वटा टोली बनाएर त्यस्ता ठाउँहरूबाट स्वाब संकलन कार्य गरिरहेकको छ। आजपनि सामाखुसीमा स्वाब संकलन गर्ने महाशाखाको तयारी छ।

यो रणनीतिअनुसार काम गरिरहेको महाशाखाको तथ्यांक अनुसार ४२ सय बढीको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण पुष्टि भएको छ। यसअघि नै २ हजार २ सय जनाको परीक्षण भइसकेको छ। पछि थप २ हजार जनाको परीक्षण गर्दा पनि कसैमा संक्रमण देखिएको छैन। अब रणनीति अनुसार ६ हजार जनाको परीक्षण सकिएपछि थप कस्तो रणनीति तय गर्ने भन्ने टुंगो लाग्ने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *