केहिबेर पछि लाग्ने खण्डग्रास सूर्य ग्रहण अब ४४ वर्षपछि मात्र देखिने, धार्मिक र वैज्ञानिक मान्यता यस्ता छन्

समाचार

काठमाडौं- आइतबार नेपाली आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दै छ। वरिष्ठ खगोलविद सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौंको आकाशमा ८८ प्रतिशतसम्म सूर्य ढाकिनेछ। सुदूरपश्चिमको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यले बताए।

सूर्य ग्रहण ग्रहण नेपाली समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा सुरु भई अपराह्न २ बजेर २४ मिनेटमा सकिनेछ। आचार्यले भने, ‘१२ बजेर ४१ मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ। त्यतिबेला वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ।’

यति लामो समय (साढे ३ घण्टा) सम्म सूर्य ग्रहण विरलै देखिने आचार्यले बताए। उनका अनुसार नेपालबाट अब यस्तो सूर्य ग्रहण ४४ वर्षपछि मात्र देखिनेछ। कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने खगोलविद् आचार्यले बताए।

सूर्य ग्रहण हेर्न चाहने सर्वसाधारण तथा विद्यार्थीलाई तक्षशिला एस्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निः शुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको उक्त कलेजले जनाएको छ।

कसलाई शुभ कसलाई अशुभ?

धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्य ग्रहण मेष, सिंह, कन्या र मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ। वैज्ञानिकहरु भने सूर्य ग्रहण जोकोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन्। धर्मशास्त्रअनुसार ६ गते राति १० बजेपछि भोजन निषेध गरिएको छ। तर विज्ञानले ग्रहणमा खाना खान निषेध गरेको छैन।

नांगो आँखाले कदापि नहेरौं

खगोलविद् आचार्यका अनुसार चन्द्र ग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ।

आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नष्ट भई सदाका लागि अन्धोसमेत हुन सक्छ। त्यसैले सूर्य ग्रहणका बेला नांगो आँखाले कदापि हेर्न हुँदैन। विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी नहुने आचार्यले बताए।

दान र स्नान गरे विशेष फल मिल्ने विश्वास

धार्मिक समुदायका मानिस ग्रहणका बेला दानदक्षिणा गर्दा विशेष फल मिल्ने विश्वास गर्छन्। उनीहरु नदी तट वा गंगामा गई स्नान गरी शुद्ध हुन्छन् र सकेकाे दान गर्छन्। तान्त्रिकहरु मन्त्र सिद्ध गराउन ग्रहण लागेका बेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्र साधनासमेत गर्दछन्।

गर्भवती महिलाले विशेष सावधानी अपनाउन सुझाव

ग्रहणका समयमा गर्भवती महिलाहरुका लागि बढी प्रभाब पर्ने भएकाले विशेष साधानीपूर्वक बस्न सुझाव दिएका छन । मिथुन राशिमा लाग्न लागेको खण्डग्रास सूर्यग्रहणको अवधि ३ घन्टा ३३ मिनेटको रहने छ ।

सकेसम्म ग्रहण अवधिभर मलमुत्र त्याग्न तथा कुनै पनि प्रकारको भोजन र पेय पदार्थ सेवनले हानि पुर्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । ग्रहण अबधि भर गर्भवती महिलाहरुले मात्रै खुट्टा खुम्च्याएर पनि बस्न नहुने भएकाले खुट्टा सिधा बनाएर आफूलाई सहज हुने तरिकाले बस्नु पर्नेछ । ग्रहणकाे समयमा सूर्यबाट आउने नकारात्मक किरणका कारणले गर्भमा रहेकाे सन्तानलाई बढि असर गर्ने भएकाले सावधानी अपनाउन सुझाब दिएकाे हाे ।

यस्तो अवस्थामा सकेसम्म सन्तान गोपालस्तोत्र पाठ ,मन्त्र जाप तथा स्मरण गरेमा पूर्णरुपमा सन्तानको रक्षा हुने कुरा विभिन्न ग्रन्थ हरुमा बताइएको छ । आफ्नो इष्टदेब तथा कुलदेवको ध्यान गरेमा पनि शुभ हुने छ । यस्तो समयमा महामृत्युञ्जयको पाठ गराउँदा पनि सन्तानका लागि रक्षा कवच जसरी रहने छ ।
चिकित्सकहरुले पनि यस्तो समयमा गर्भवती स्त्रीले विशेष ख्याल गर्नु पर्ने कुरा उल्लेख गरेका छन । ग्रहणको समयमा सब्जी काट्न, कुनै पनि धारिलो बस्तु चलाउन र सूर्यको किरणलाई सिधै हेर्न नहुने सुझाब दिएका छन ।

यस्ता छन् ग्रहणसम्बन्धी केही अन्धविश्वास

ग्रहणसम्बन्धी अन्धविश्वास संसारभर नै छ। रोमनहरु ग्रहणका वेला चिच्याउँछन्। चीनमा ग्रहण र ड्र्यागनबीच सम्बन्ध रहेको विश्वास गरिन्छ। प्राचीन मिश्रका राजा आफैं सूर्यवंशी थिए। उनी सूर्य ग्रहणका बेला सहरको मुख्य मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुरा इतिहासमा पाइन्छ।

बालबालिकालाई विज्ञानमा रुचि पैदा गराउने अवसर

साधारण मानिसका लागि ग्रहण अनौठो तथा असाधारण घटना हो। खगोलविद्का लागि आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो। उनीहरु सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको समय उपयोग गर्छन्। साना नानीबाबुका लागि ग्रहण विज्ञानमा रुचि पैदा गराउने अवसर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *