सबैभन्दा बढी संक्रमित हुने चौथो देश बन्यो भारत : विश्वव्यापी झन् तिब्र बन्दै संक्रमण

समाचार

काठमाडौं- कोरोना भाइरस एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण कम हुने आशा गरिरहेका बेला झन् भन्दा झन् बढ्दै छ । बुधबारको रेकर्ड तोड्दै बिहीबार एकै दिनमा १ लाख ३६ हजार ७ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख ३५ हजार ५ सय ७८ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो केहि दिन यता कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाएको छ । झनै तिब्र गतिमा फैलिएको कोरोनाबाट पछिल्लो १५ दिन यता हरेक दिन १ लाख बढि नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढि संक्रमित ब्राजिलमा थपिएका छन् । जहाँ ३० हजार ४ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा २३ हजार ३ सय जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा ११ हजार १ सय २८, रुसमा ८ हजार ७ सय ७९, पेरुमा ५ हजार ९ सय ६५, पाकिस्तानमा ५ हजार ८ सय ३४ र चिलीमा ५ हजार ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ७५ लाख २ हजार २ सय बढि संक्रमित भएका छन् भने ४ लाख २१ हजार ३२ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढि प्रभावित अमेरिकामा अहिलेसम्म २० लाख २२ हजार ४ सय ८८ जना संक्रमित भएका छन् भने १ लाख १३ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । दोस्रो प्रभावित मुलुक ब्राजिलमा ८ लाख २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । ४० हजार ९ सय १९ जनाको मृत्यु भएको छ । तेस्रो प्रभावित मुलुक रुसमा ५ लाख १ हजार ८ सय संक्रमित हुँदा ६ हजार ५ सय २२ जनाको मृत्यु भएको छ ।

चौथो प्रभावित भारतमा २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित भएका छन् भने ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ । पाँचौ प्रभावित बेलायतमा संक्रमितको संख्या २ लाख ९१ हजार ४ सय ९ पुगेको छ भने ४१ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *