पहिलो वानडेमा श्रीलंकाले वेष्ट इन्डिजलाई १ विकेटले हरायो

खेलकुद

काठमाडौंः वेष्ट इन्डिज विरुद्धको एकविदसीय क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली श्रीलंका १ विकेटले विजयी भएको छ । पाहुना टोली वेष्ट इन्डिजले दिएको २ सय ९० रनको लक्ष्य श्रीलंकाले ४९.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान दिमुथ करुणारत्नले ५२, अभिष्का फर्नान्डोले ५०, वानिन्दु हसरंगाले अविजित ४२, थिसरा परेराले ३२, कुसल परेराले ४२, कुसल मेन्डिसले २० र धनन्जय डीसिल्भाले १८ रनको योगदान दिए । बलिङमा वेष्ट इन्डिज टीमका अल्जारी जोसेफले ३, हेडन वाल्स, किमो पउलले २–२ र जसन हेल्डरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन बनायो । उसका लागि ओपनर साई होपले शतक बनाए । उनले १४० बलमा १० चौका प्रहार गर्दै ११५ रन बनाए । एकदिवसीय क्रिकेटमा होपको यो नवौं शतक हो ।

यस्तै रोस्टन जेसले ४१, डारेन ब्रावोले ३९, किमो पउलले अविजित ३२, निकोलश पूरनले ११ र हेडन वाल्सले नटआउट २० रन बनाए । बलिङमा श्रीलंकन टीमका इसुरु उडानाले ३, थिसरा परेरा र नुवान प्रदीपले एक–एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको छ । श्रीलंका र वेष्ट इन्डिजबीचको दोस्रो खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *