सुनको भाउ अहिलेसम्मकै उच्च, ताेलामा ७८ हजारले नाघ्यो

समाचार

काठमाडौं, ९ फागुन । नेपाली बजारमा सुनको भाउले नयाँ उचाई लिएको छ । शुक्रवार आज छापावल सुन प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ ।

किन बढिरहेछ ?

चीनबाट फैलिएको कोरोना भा’इरसको सं’क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सेयर कारोबारमा मन्दी आएपछि लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएका छन् । अन्य वस्तुको तुलनामा सुनमा लगानी गर्दा लगानी सुरक्षण हुने देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन अभाव भएको हो । यसको सिधा प्रभाव नेपाली बजारमा समेत देखिएको कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

मूल्य बढेसँगै कारोबार आधाभन्दा बढीले घटेको बज्राचार्यले बताए । उनका अनुसार अहिले बिहेको सिजन हो तर पोहोरको तुलनामा कारोबार कम भएको छ । गत वर्ष फागुन महिनामा महासंघ अन्तर्गत व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *