एकै ओभरमा ६ छक्का हान्ने जर्ज मुन्सेले पनि ईपिएल खेल्ने

खेलकुद

काठमाडौं : चैत १ गतेदेखि १५ गते काठमाडौंमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट खेल्ने भएका छन्। पोखराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुन्सेले इपिएलमा पोखरा राइनोजबाट खेल्ने जनाएको हो।

यससँगै मुन्से पोखरा राइनोजमा आबद्ध हुने तेस्रो विदेशी खेलाडी भएका छन्। यसअघि पोखराले वेस्ट इन्डिजका क्रिस गेल र केस्रिक विलियम्सलाई अनुबन्ध गरेको जनाएको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगिता विभिन्न ६ सहरका टोलीले प्रतिस्पर्धा गर्दै छन्। बायाँहाते आक्रामक ब्याट्सम्यानले नेदरल्यान्डविरुद्धको खेलमा अविजित शतकीय इनिङ्स खेलेका थिए।

२५ बलमा शतक प्रहार गरेका मुन्सेले इएसपिएन अवार्डको ब्याटिङ पर्फर्मेन्स अफ दी इयर २०१९ को उपाधि जित्न सफल भएका थिए। यस्तै मुन्सेको नाममा एकै ओभरमा ६ छक्का प्रहार गरेको कीर्तिमान समेत छ। मुन्सेले नेपाल भ्रमण र इपिएलका लागि निकै आतुर रहेको बताएका छन्। ‘इपिएल खेल्नका लागि म आतुर छु,’ मुन्सेले भनेका छन्, ‘मुन्सेले भने, ‘म पोखरा राइनोजबाट इपिएल खेल्नेछु। नेपाली दर्शकमाझ खेल्न पाउँदा मलाई उत्साह जागेको छ।

पोखरा राइनोजबाट खेल्ने यी हुन् नेपाली खेलाडी

बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारी, बिक्रम शोब, विपिन कार्की, नन्दन यादव, लोकेश बहादुर बम, देव शाह, ऋत गौतम, विपिन रावल, पृथु बास्कोटा र विवेक कुमार यादव।

म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकियो

युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएकाे हाे ।

युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । ब्रुगका लागि इमानुयल डेनिसले गोल गरेका थिए ।

तर ३६ औं मिनेटमा युनाइटेडले खेल बराबरी गर्न सफल भएकाे थियाे। युटाइनेडका लागि एन्टोइन मार्टीयलले गोल गरे । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । अब यी दुई टिमको दोस्रो खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

बक्सिङ खेलाडी छनोट

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि पुरुषमा ६ र महिलामा ३ गरी ९ खेलाडी छनोट भएका छन्। सातदोबाटोमा बिहीबार सम्पन्न छनोट प्रतियोगिताबाट थाइल्यान्डको पटायामा अप्रिल १ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपका लागि ९ खेलाडी छनोट भएका हुन्। छनोट भएका खेलाडीले आाआफ्नो स्पर्धामा थाइल्यान्डमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। नेपाल बक्सिङ संघको आयोजनामा सञ्चालन भएको छनोट प्रतियोगिताबाट महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता महर्जन नेपाल प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै पहिलो भएकी हुन्।

महिला ५७ केजीमा आर्मीकी मिनु गुरुङले आर्मीकै चन्द्रकला थापाबाट वाकओभर पाउँदै छनोट भइन्। महिला ६० केजीमा नेपाल आर्मीकी पुनम रावल बुधबारै छनोट भइसकेकी छन्। ५७ केजीमा आर्मीका पुरन सुनुवारले ललितपुरका बुद्ध ग्याम्जो लामा, ६३ केजीमा काठमाडौंका सनिल शाहीले झापाका अभिनय राई, ६९ केजीमा प्रहरी भूपेन्द्र थापाले दाङका विकास राणा र ८१ केजीमा आर्मीका गणेश प्रधानले दाङका केशर खत्रीलाई हराउँदै पहिलो भए।

प्रतिद्वन्द्वीविहीन आर्मीका रवि सुनुवार पुरुष ७५ केजीमा स्वतः छनोट भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *