लज्जास्पद हारपछि अमेरिकी राजदूत बेरीको प्रतिक्रिया – अमेरिकी टीमले नेपालबाट सिक्नुपर्छ

खेलकुद

काठमाडाैं : नेपाल-अमेरिकाबीच भएको एकदिवसीय क्रिकेट खेलमा नेपालले ८ विकेटको फराकिलो जित हासिल गरेपछि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरीकी टीमले सिक्नुपर्ने कुरा धेरै रहेको प्रतिक्रिया दिएका छन् । राजदूत बेरी क्रिकेट रंगशालामै उपस्थित भएर म्याच हेरिरहेका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बेरीले यो अचम्मको अनुभव रहेको बताएका छन् । ‘अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नु पर्छ,’ उनले लेखेका छन् । राजधानीको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा बुधवार नेपाल र अमेरिकी क्रिकेट टीमले एकदिवसीय क्रिकेट म्याच खेलेका थिए । नेपालले ३५ रनमै अमेरिकी टोलीलाई समेटेको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक न्यून स्कोर हो ।

अमेरिका ८ विकेटले पराजित

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो। नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए । अमेरिकाका केन्जिगेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर हो । सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए । अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *