अकिब इल्यासको शतक नेपाली दर्शकलाई समर्पित, भन्छन्- ” यति गजवका दर्शक कहिल्यै देखेको थिइनँ।’

खेलकुद

काठमाडौँ । आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गरेका ओमानका ब्याट्सम्यान अकिब इल्यासले आफ्नो शतक नेपाली दर्शकलाई समर्पित गरेका छन् ।

अकिबको पहिलो एकदिवसीय शतक नेपाली टिमका लागि हारको मुख्य कारण बन्यो। अविजित रहेका अकिबले १ सय ८ बलमा १ सय ९ रन बनाए। जसमा उनले १२ चौका र १ छक्का हानेका थिए। ब्याटिङमा मात्र होइन त्यसअघि १० ओभर बलिङ गरेका अकिबले ३६ रन मात्र दिएर ४ विकेट लिएका थिए।

पाकिस्तानको सियालकोटमा जन्मिएका अकिबले नेपाली मैदानमा ओमानका लागि पहिलो एकदिवसीय शतक बनाएका हुन्। शतक प्रहार गरेपछि अकिबले नेपाली समर्थकतर्फ फर्केर आफ्नो शतकको खुशियाली मनाएका थिए । आकिबले शतक पुरा गरेपछि मैदानमा उपस्थित नेपाली दर्शकले उठेर ताली बजाएर उनको खेलको सम्मान गरेका थिए । अकिबले पनि लामो समयसम्म दर्शकहरुतर्फ आफ्नो ब्याट उचाल्दै अभिवादन फर्काएका थिए ।

खेलपछि कुरा गर्दै उनी भन्छन्- ‘जीवनमै यति गजवका दर्शक कहिल्यै देखेको थिइनँ।’ ‘हामीले अहिलेसम्म नेपालमा जस्तो गजवको दर्शक कतै देखेकै थिएनौँ। दर्शकको यस्तो उत्साह मैले पनि जीवनमै पहिलोपटक देख्दैछु। आफ्नो टिमलाई समर्थन गरिरहेका उनीहरु जब विपक्षीले राम्रो खेल्छन् तब उनीहरुलाई पनि समर्थन गर्छन्। यसैले मैले शतक बनाएपछि पहिले दर्शकतर्फ फर्केर नै ब्याट उठाएँ’, अकिब भन्छन्, ‘मेरो टिमतर्फ फर्केर त फेरि पनि खुसी मनाउन सकिहाल्छु तर थाहा छैन नेपालको यस्तो गजवको दर्शकसँग अब कहिले भेट हुन्छ।’

आफू चोटका कारण टिमबाहिर रहेको र क्रिकेटमा फर्कन्छु भन्ने यकिनसमेत नहुँदा प्रशिक्षकको आग्रहमा टिममा आएको सुनाउँदै उनी भन्छन्– ‘घाइते भएर बाहिर बसेको बेला सबैले टिममा बोलाउनुभएको थियो। म त खेलमा फर्कन्छु भन्ने सोच पनि थिएन। साथीहरु र प्रशिक्षकले खेल्नुपर्छ भनेर बोलाउनुभयो। यस्तोमा आएर शतक बनाउन सक्नु अहिलेसम्मकै सबैभन्दा खुसीको क्षण हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *