सन्दिप लामिछानेको मेल्बर्न स्टार्सलाई हराउँ सिड्नी सिक्सर्सले जित्यो बिग ब्यासको उपाधि

खेलकुद

सिड्नी : अस्ट्रेलियन टी–२० क्रिकेट बिग बास लिग (बीबीएल) को फाइनलमा मेल्बर्न स्टार्स १९ रनले पराजित भएको छ। शनिबार सिड्नीमा भएको खेलमा सिड्नी सिक्सर्सले दिएको ११७ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित १२ ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमात्र जोड्यो।

पानी परेर खेल तालिका प्रभावित भएपछि १२ ओभरमा खेललाई छोट्याइएको थियो। स्टार्सका लागि बेन डंकले ११ रन जोडे। त्यस्तै मार्कस स्टोनिसले १० रन जोडे भने निक लार्किन ८ रनमै पेभिलियन फर्किए। सिक्सर्सलाई उपाधि जिताउन नाथन ल्योनले २ विकेट लिए भने जोश हजलिवुड र स्टीभ ओकिफले १/१ विकेट हात पारे।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको सिक्सर्सले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। उसका लागि जोश फिलिपले ५२ रन जोडेका थिए। उनले ३ छक्का र ४ चौका हिर्काएका थिए। त्यस्तै जोर्डन सिल्कले नटआउट २७ रन बनाए भने स्टिभन स्मिथले २१ रन जोडेका थिए। स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेल र आडम जाम्पाले समान २/२ विकेट लिए। त्यस्तै ड्यानियल वारलले १ विकेट हात पारे।

स्टार्स नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टीम हो। तर उनी लिग चरणको अन्तिम खेल खेलेर आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालसहित अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखला खेल्न स्वदेश फर्किएका छन्।

उनले माघ २२ गते शृंखलाको उद्घाटन खेलमा ओमानविरुद्ध तथा शनिबार अमेरिकाविरुद्ध खेलिसकेका छन्। पहिलो खेलमा विकेट विहीन भएका उनले विष्फोटक ब्याटिङ गर्दै २७ बलको सामना गर्दै २८ रन जोडेका थिए। त्यस्तै शनिबार अमेरिकाविरुद्ध २ विकेट लिए।

नेपालले अमेरिकालाई ३५ रनले हरायो

नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा ‘अलआउट’ हुनुपूर्व १९० रन बनाएको थियो ।

विश्व कीर्तिमान

नेपालका लागि विनोद भण्डारीले ७९ बलमा सर्वाधिक ५९ रनको योगदान गरे । जसमा ६ चौका र एक छक्कासमेत सामेल थियो । यस्तै, कुशल मल्लले ५१ बलमा ५० रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको ‘डेब्यु’ खेल थियो । उनको नाममा विश्व कीर्तिमानसमेत बन्यो ।

कुशलले सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका हुन् । १५ वर्ष ३४० दिनमा अर्धशतक बनाउँदा उनको नाममा विश्व कीर्तिमान बनेको हो । यसअघि, अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो ।

चलेन ब्याटिङ

यसबाहेक अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ३९ बलमा २१ रन बनाए । पारस खड्काले ५२ रनमा १९ रन, करण केसीले २१ बलमा १२ रन र सुशन भारीले १९ बलमा ११ रन जोडे । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर सुवास खकुरेल ३ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने कुनै रन नबनाइ पवेलियन फर्किए । यस्तै, आरिफ शेख व्यक्तिगत २ रनमा आउट भए । अविनाश बोहरा ५ रनमा अविजित रहे । अमेरिकाका लागि क्यामरुन स्टेभेन्सनले सर्वाधिक ३ विकेट लिए ।

अमेरिका १५५ रन अलआउट

जवाफमा अमेरिकाले ४४ ओभर १ बलमा सबै विकेट गुमाएर १५५ रनमात्र बनाउन सक्यो । अमेरिकाका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका इयान होल्यान्डले सर्वाधिक ७५ रन बनाए । १११ बल खेलेका उनले त्यसक्रममा ७ चौकासमेत प्रहार गरे । अमेरिकाका अरु खेलाडीलाई नेपाली बलरले लामो समय क्रिजमा टिक्न दिएनन् ।

करणले लिए ४ विकेट

नेपालजस्तै अमेरिकाको पनि सुरुआतबाटै विकेट पतन सुरु भएको थियो । अमेरिकालाई सस्तैमा रोक्नेक्रममा नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । ७ ओभर १ बल बलिङ गरेका उनले १५ रनमात्र खर्चिए । यस्तै, सुशन भारीले ३, सन्दीप लामिछानले २ र कुशल मल्लले एक विकेट झारे ।

करण खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।

शृंखलामा नेपालको यो पहिलो जित हो । घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमासमेत नेपालको पहिलो विजय हो । अमेरिकाले भने लगातार दोस्रो हार व्यहोर्‍यो ।

त्रिकोणात्मक एकदिवसीय शृंखलाको अर्को टोली ओमान हो । नेपाल पहिलो खेलमा ओमानसित १८ रनले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा ओमानसितै ६ विकेटले हारेको थियो । यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टोलीले आपसमा दुई/दुई खेल खेल्नेछन् । नेपालले अब तेस्रो खेल आइतबार ओमानसित र अन्तिम खेल अमेरिकासित माघ २९ गते खेल्नेछ ।

विश्वकप क्रिकेट लिग–२ लाई सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमासमेत हेरिएको छ । ७ टोली सहभागी यो प्रतियोगिताका शीर्ष तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

अंकतालिका

नेपाल दुई खेलबाट २ अंकसहित तालिकाको छैटौं स्थानमा छ । १० खेल खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । ८ खेलबाट १२ अंक नै जोडेको ओमान दोस्रो, समान खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो, ७ खेलबाट ८ अंकसहित नामबिया चौथो स्थानमा छन् ।

युएई ७ खेलबाट ७ अंकसहित पाँचौं स्थानमा छ । ८ खेल खेलिसकेको पपुवा न्यूगिनी पुछारमा छ । उसले अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *