म्यानचेस्टर सिटी जालान् त मेस्सी ? यस्तो छ सम्भावना

खेलकुद

काठमाडाैं : म्यानचेस्टर सिटीले बार्सिलोनाका उत्कृष्ट व्यक्तित्वहरूलाई लिएर प्रेमियर लीगको उम्दा क्लब बनाएको छ र विश्व फूटबलको सम्भ्रान्तका रूपमा आफूलाई स्थापित गरेको छ । सिटीका प्रमुख कार्यकारी फेरान सोरियानो बार्सिलोनाबाट सन् २०१२ मा आएका हुन् र उनले क्लबको ब्रान्ड बनाउन निकै मेहनत गरे । उनले सिटी फूटबल ग्रूप बनाए र विश्वका शीर्ष क्लबको पंक्तिमा उभ्याए । फूटबलका उम्दा निर्देशकमध्येका एक सिकी बेगिरिस्तेन पनि सिटी आए अनि फूटबल जगतमा सर्वाधिक खोजिने प्रशिक्षक पेप ग्वार्डियोलालाई पनि उनीहरूले सन् २०१६ मा भित्र्याए ।

अहिलेसम्म सिटीको हात पर्न नसकेका बार्सिलोनाका सबभन्दा ठूला व्यक्तित्व लियोनल मेस्सी हुन् । उनको नाम एतिहाद स्टेडियमसँग बारम्बार जोडिन्छ तर उनी क्याम्प नाओमै बस्दा खुशी छन् । ६ पटक बालून दोर जितिसकेका मेस्सीले कहिलेकाहीँ बार्सा छोड्ने कुरा गर्ने गरेका छन् । सन् २०१४ मा उनी र उनका पितालाई करछलीको आरोप लगाएपछि उनले क्बल छोड्ने कुरा आएको थियो । तर उनी बार्सिलोनाबाट निस्कने कुरा कहिले पनि यथार्थवादी थिएन र सिटीले कहिले पनि उनलाई भित्र्याउनका लागि गम्भीरतापूर्वक प्रयास गरेन किनकि उसलाई मेस्सीको बार्सिलोनासँगको अद्वितीय सम्बन्धका बारेमा थाहा छ ।

‘मेस्सीले आफ्नो खेलजीवन बार्सिलोनामै टुंग्याउनु स्वाभाविक छ तर कुनै दिन उनले फोन गरे भनी हामी उठाउँछौं र उनका लागि तत्कालै ढोका खोल्छौं,’ सोरियानोले सन् २०१६ मा भनेका थिए । ‘तर अँह, हामीहरू उनलाई फोन गर्दैनौं ।’

तर स्पोर्टिङ डाइरेक्टर एरिक अबिदालसँग ठाकठुक परेपछि मेस्सीले ला लिगा त्यागेर सिटी जाने सम्भावना बढेको अनुभव गरिएको छ । उनीहरू पहिले बार्साकै टीममेट थिए तर उनीहरूको मतभिन्नता देखिएपछि क्लबले मेस्सीको दीर्घकालीन प्रतिबद्धताका विषयमा पसिना बगाउन थालेको छ । आफूलाई राजनीतिक गोटी बनाइएको भन्दै मेस्सीले दिक्क मान्न थालेको रिपोर्टहरू आइरहेका छन् ।

सिटीका व्यवस्थापक ग्वार्डियोला पनि मेस्सीलाई संसारको सर्वोत्कृष्ट खेलाडी मान्छन् । उनीहरू बार्सामा प्रशिक्षक र खेलाडीका रूपमा चार वर्ष सँगै थिए र त्यसक्रममा उनीहरूले चारपटक ला लिगा उपाधि, दुईवटा च्याम्पियन्स लीग, दुईपटक कोपा देल रे, दुईवटा युरोपीयन सुपर कप, दुईवटा क्लब वर्ल्ड कपहरू र तीनवटा स्पेनिस सुपर कप जितेका थिए । तर ग्वार्डियोलाले मेस्सीसँग फेरि काम गर्नका लागि गम्भीरतापूर्वक विचार गरेका छैनन् ।

त्यसो त मेस्सीलाई सस्तोमा भित्र्याउन गाह्रो छ । उनको अहिलेको सम्झौतामा उनले प्रतिसाता पाँच लाख ६५ हजार युरो पाउने उल्लेख छ अनि उनलाई साइन गर्दा पाउने बोनस पनि निकै विशाल हुन्छ । महंगो खर्च लागे पनि सिटीका लागि मेस्सी भित्र्याउँदा हुने फाइदा विशाल छ र क्लबलाई स्पोन्सरशिप डील गर्दा यसले अर्को स्तरमा पुर्‍याइदिन्छ ।

अनि मैदानमा हुने फाइदा पनि स्पष्ट छन् । जुन महिनामा मेस्सी ३३ वर्ष पुग्छन् तर उनको करीयर अन्त्य हुन अझै निकै समय बाँकी छ र उनले डिसेम्बर महिनामा कीर्तिमान छैठौं बालून दोर जितेका छन् । तर सिटीले मेस्सीका लागि तत्काल कदम चाल्ने कुनै संकेत पाइन्न । ग्वार्डियोलाले मेस्सीको जति प्रशंसा गरे पनि च्याम्पियन्स लीग तेस्रोपटक जित्नका लागि उनलाई जसरी भए पनि मेस्सी भित्र्याउनुपरेको संकेत दिन चाहँदैनन् । अनि सिटीले आफूले चाहेको जस्तो गराउन पहिलेको जस्तो पैसा फ्याँक्ने स्थिति पनि छैन किनकि युईएफए फाइनान्सियल फेयर प्लेको अनुसन्धान चलिरहेको छ ।

बार्सिलोना निकट स्रोतहरूका अनुसार, च्याम्पियन्स लीग र ला लिगामा चुनौती दिन सक्ने बार्साको हिस्सा बन्न चाहन्छन् । त्यो स्थिति रहुन्जेल सिटीले मेस्सीलाई भित्र्याउने सपना, सपना मात्र रहने छ ।

– गोल डट्कममा प्रकाशित जोनाथन स्मिथको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *