शरद भेषवाकर चोटिल भएपछि सुवास खकुरेललाई लाग्यो यति ठुलो लट्री

खेलकुद

काठमाण्डौ : नेपाली टीमका अनुभवी ब्याट्सम्यान शरद भेषवाकरको स्थानमा आइसीसी विश्वकप–२ को त्रिकोणात्मक सिरिजका बाँकी खेलमा विकेटकीपर–ब्याट्सम्यान सुवास खकुरेलले मौका पाएका छन् । बायाँ हिपको मांशपेशी दुखाइका कारण शरदले बाँकी खेल गुमाएपछि उनको स्थानमा सुवासले टोलीमा मौका पाएका हुन् ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी सिरिजको पहिलो खेलमा ओमानविरुद्ध शरदले ५५ रन बनाएका थिए । खेल सकिएपछि एक्सरे गर्दा चिकित्सकबाट आराम गर्नुपर्ने सल्लाह पाएपछि उनले सिरिजका बाँकी खेल गुमाएका हुन् । नेपालले सिरिजको दोस्रो खेलमा शनिबार अमेरिकी टीमको सामना गर्दैछ ।

चोटका कारण लामो समयपछि नेपाली टीममा फर्किएका सुवासले केही दिनअघि अमेरिकासँगको अभ्यास म्याचमा अविजित ५२ रन बनाएका थिए । एक समयका उत्कृष्ट ओपनरका रुपमा परिचय बनाएका उनलाई फेरि आफूलाई प्रमाणित गर्ने मौका मिलेको छ । गत वर्ष ४ सेप्टेम्बरमा एसिया कप क्वालिफायरमा अन्तिम म्याच खेलेका सुवास त्यसयता चोटका कारण विश्राम गरिरहेका थिए ।

शरद टोलीबाट बाहिरएसँगै अमेरिकाविरुद्ध नेपालको ओपनिङ सुवास र कप्तान ज्ञानेन्द्र मल्लले गर्ने सम्भावना बढेको छ । सिरिजको पहिलो खेलमा ओमानविरुद्ध पारस र ज्ञानेन्द्रले ओपनिङ गरेका थिए । उक्त खेलमा मल्ल १ र खड्का ३ रनमै आउट हुँदा नेपाल १८ रनले पराजित भएको थियो ।

एभरेष्ट प्रिमियर लिगलाई आइसिसीको मान्यता

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ। आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो। यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन्।

नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन्। गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ।

इपिएलमा छ फ्रेन्चाइज टोली काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स भिड्ने छन्। इपिएलको खेल तालिकालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वीकृत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *