स्टार क्रिकेटरहरु खेल्ने एभरेष्ट प्रिमियर लिगलाई आइसिसीको मान्यता

खेलकुद

काठमाडाैं, २४ माघ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ । आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो ।

यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन् । नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन् ।

गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ ।

इपिएलमा छ फ्रेन्चाइज टोली काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स भिड्ने छन् । इपिएलको खेल तालिकालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वीकृत गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिग : आर्मी शीर्ष स्थानमा

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा सन्तोष तामाङ नायक बने । दुवै गोल सन्तोषले नै गरे । खेलको १६ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सन्तोषले पहिलो गोल गरे । कप्तान भरत खवासलाई डिबक्सभित्र एपिएफका डिफेन्डर रमेश दङ्गालले लडाएपछी आर्मीले पेनाल्टी पाएको थियो ।

त्यस्तै खेलको ३७ औँ मिनेटमा एपिएफका आशिष लामाले एक गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर खेलको ४२ औंँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । खेलमा आर्मी सन्तोष तामाङ म्यान अफ दि म्याच घोषित भए । जितसँगै आर्मीले ११ खेलमा २६ अङ्क जोडेको छ । त्यस्तै २५ अङ्क जोडेको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ । अङ्क तालिकाको १३ औँ स्थाना रहेको एपिएफको ५ अङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *