शरद भेषवाकर घाइते भएपछि त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने, खकुरेलले खेल्ने सम्भावना

खेलकुद

काठमाडौं : नेपाली क्रिकेट टोलीका मध्यक्रममा ब्याट्सम्यान शरद भेषवाकरले काठमाडौंमा जारी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने भएका छन् । बुधबार ओमानविरुद्धको खेलमा घाइते भएपछि चिकित्सकले उनलाई १० दिन आराम गर्न भनेका हुन् । उनी १० दिन आराममा रहँदा उनले जारी श्रृंखलाका बाँकी खेल गुमाउने भएका हुन्।

बुधबार बेलुका नै स्वास्थ्य चेकजाँजका लागि अस्पताल पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँकी खेल नखेल्न चिकित्सकले सुझाएका थिए । बुधबारको खेलमा उनले अर्धशतकीय पारी खेलेका थिए । विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखला जारी रहेका बेला भेषवाकर मैदानमा उत्रिन नसक्ने भएपछि नेपाललाई आगामी खेलमा थप चुनौती देखिने भएको छ ।

उनी मैदानमा उत्रिन नसक्ने भएपछि वैकल्पिक सूचीमा रहेका सुभाष खकुरेलले टोलीमा स्थान पाउनेछन् । जारी त्रिकोणात्मक श्रृंखला अन्तर्गत शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारकाे खेलसहित नेपालले तीन वटा खेल खेल्न बाँकी छन् ।

ओमानको लगातार दोस्रो जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले दोस्रो जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमानले लगातार दोस्रो जित दर्ता गरेको हो । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो ।

ओमानका लागि अकिब इलियसले सर्वाधिक ७२ र मोहमद नदीमले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै खवर अलिले ३१ रन जोड्दा सुरज कुमारले ३० रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो ।

अमेरिकाका लागि इयन होल्याण्डले ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अक्षय होमराजले ४४, मोनाक पटेलले १९ र कप्तान सौरभ नेत्राभाल्करले अविजित १४ रन जोडेका थिए । यता, ओमानका मोहमद नदीमले ३ विकेट लिए । त्यस्तै इकाब इलास, बिलाल खान र जिसन मक्सुदले समान दुई दुई विकेट हात पारे । यसअघि ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो । अब शनिबार सिरिजअन्र्तगत नेपाल र अमेरिकाबीच खेल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *