ब्याटिङ फ्लप हुदाँ ओमानसँग नेपाल पराजित, १९८ रनको झिनो लक्ष्य पनि भेटाएन

खेलकुद

काठमाडौं : पहिलो त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेल ओमानले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले आइसिसी लिग डिभिजन-२ प्रतियोगिताको पहिलो खेलमा नेपाललाई हराएको हो। यसअघि पहिले ब्याटिङ गरेको ओमानले नेपालाई १९८ रनको लक्ष्य दिएको थियो।

खेलको सुरुवातमा नेपालले दबाब बनाए पनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नादीमले पारी सम्हाले। पाँच विकेट गुमाएर ५७ रनमा धर्मराएको ओमानको योगफल उकास्न नादीमले अर्धशकीय पारी खेले। नदीमले अविजित रहँदै ६९ रनको योगदान दिए। उनले पाँच चौका र दुई छक्का हिर्काए। ओमानका लागि सन्दीप गौडले ३३ तथा नसिम खुशीले २८ रनको महत्वपूर्ण रन बटुले। बिलाल खान नदीमसँगै ८ रन बनाएर अविजित रहे।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै नौ ओभरमा ४७ रन खर्चेर चार विकेट चट्काए। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी भएका सुशन भारीले १० ओभरमा मात्र १४ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। नेपाली क्रिकेटमा ग्लोबलस्टारको नाम कमाएका सन्दीप लामिछानेले दश ओभर बलिङ गरे पनि आज विकेटविहीन बन्न पुगे। पारस खड्काले सात ओभर बलिङ गरेर विनाविकेट ३० रन दिए। त्यस्तै, अविनाश बोहराले पनि ३८ रन खर्चिए। १९८ रनको लक्ष्यसहित ब्याटिङमा आएको नेपालको ओपनिङ नै धरापमा पर्‍यो।

ओपनिङमा आएको कप्तान ज्ञानेन्द्र मल्ल १२ बल खेलेर १ रन मात्रै बनाएर आउट भए। त्यस्तै, नेपालका आशा गरिएका ब्याट्सम्यान पारस खड्का पनि १४ बलमा ३ रन बनाएर सस्तैमा बाहिरिए। नेपालको पारी सम्हाल्नेक्रममा सरद भेष्वाकरले अर्धशतकीय पारी खेले। उनले १०८ बलमा ५५ रन बनाए। दोहोरो अंक जोड्नेक्रममा दीपेन्द्रसिंह ऐरीले भेष्वाकरलाई साथ दिँदै ५७ बलमा ३६ रन बनाए। आरिफ शेखले १० बलमा ६ रन बनाए भने रोहित पौडेलले खाता नै खोल्न सकेनन्।

विनोद भण्डारीले पनि नेपालको पारि सम्हाले। उनले २५ बलमा २६ रन बनाए। करण केसी आठ बल खेलेपनि शून्य रनमै आउट भए। बलिङमा जम्न नसकेका नेपाली ग्लोबल स्टारको रूपमा चिनिएका सन्दीप लामिछानेले आज ब्याटिङमा कमाल गरे। उनले २७ बलमा २८ रन बनाए। सुशान भारी र अभिनाश बोहोराले समान ८ रन बनाए। नेपालले जम्मा १७९ रन मात्रै बनाउन सक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *